माओवादीको अबको रणनीतिः राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेद्वार, इलाम दुईमा आत्मनिर्भर

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते हुने निर्वाचनमा प्रमुख दलका फरक फरक तयारी अघि बढेका छन्। वर्तमान सत्ता गठबन्धनमा सहज बहुमत हुनुको फाइदा उठाउँदै नेपाली कांग्रेसले आफ्ना नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने दाउमा छ तर माओवादी केन्द्र भने त्यसका लागि तयार छैन।

कोशीमा आफूलाई पटकपटक धोका भएपछि नेकपा (माओवादी केन्द्र) सहजै कांग्रेसलाई यो पद दिन तयार छैन । अझ कांग्रेसको महासमिति बैठकमा गठबन्धनविरोधी मत प्रकट भएपछि माओवादीमा अर्को संशय थपिएको छ ।

कोशीमा सिटौला राष्ट्रियसभामा जित्दै गर्दा माओवादीकी चम्पादेवी कार्की पराजित हुन पुगेकी थिइन् । त्यसैबेलादेखि राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिनैहुँदैन भन्ने मत माओवादीमा बलियो छ । किनकि मुखैमा आएको कोशीको मुख्यमन्त्री छोड्नुपर्ने, सभामुख गुमाउनुपर्ने र राष्ट्रियसभाका सदस्य नै गुमाउनु परेपछि माओवादीभित्र अब कांग्रेससँग सहकार्यमै प्रश्न उठ्ने गरी असन्तुष्टि बढेको छ ।

प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन विचारणीय प्रश्न भएको बताएका छन् । प्रचण्डले केही दिन पार्टीको केन्द्रीय समितिमा भनेका थिए, ‘कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभा सदस्य पनि गुमाउनुपर्यो । कोशीकै कमरेडहरूले पनि कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्नुभएको छ । राजनीतिकरुपमा हेर्ने हो भने पनि कांग्रेसले प्रधानमन्त्री बनाएको होइन । यसैले पटक–पटक धोका दिँदै आएको कांग्रेससँगको सहकार्य माओवादीका निम्ति विचारणीय प्रश्न हो ।’

कांग्रेसले धोका दिएको, आफूले गर्न खोजेको सुशासनको अभियानमा सहयोग होइन दबाब दिएको र मन्त्री फेर्न चाहे पनि सहमति नदिएपछि प्रचण्ड दबाबमा छन् । यसैले एमाले अध्यक्ष केपी ओलीसँगको भेटवार्ता पनि बढाइरहकेा छन्। प्रचण्डले आफूसँग सम्भावित समीकरणको विकल्प भएको पनि सन्देश सार्वजनिक रूमै दिइसकेका छन् ।

इलाम दुईमा आत्मनिर्भर
माओवादीमा अब आत्मनिर्भर बाटोमा अघि बढ्नुपर्ने मत प्रखर भैरहेको छ। युवा नेताहरूले अब आफ्नै बलमा अघि बढ्न थाल्नुपर्ने बताउँछन्। त्यसको अभ्यास इलाम दुईबाट हुन सक्छ।

इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। त्यही क्षेत्रबाट निर्वाचित पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ ।

निर्वाचन आयोगले उक्त क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय आइतबार गरेको छ । यससँगै दलहरूमा औपचारिक/अनौपचारिकरूपमा छलफल सुरू प्रारम्भ भएको छ ।

चुनावमा एक्लै होमिनुपर्ने मत माओवादीमा देखिन्छ। कोशी प्रदेशका माओवादी केन्द्रका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ भन्छन्, “परीक्षणकै लागि भएपनि यसपटक एक्लै निर्वाचनमा जानुपर्छ भनेका छौँ ।”

यसका लागि इलाममै बैठक बोलाउने तयारी रहेको उनले बताए । “जीत-हार आफ्नै ठाउँमा छ । तर, पार्टीले आफैँले आफैँलाई परीक्षण गर्नका लागि यस्तो हुनुपर्छ भन्ने हाम्रो तयारी हो । त्यहीँ बस्ने बैठकले निर्णय गर्छ ।”