कांग्रेस महासमितिको सन्देशः माओवादीसँग सहकार्यको विकल्प छैन

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसको महासमिति बैठकले अन्ततः माओवादी केन्द्रसँगको सहकार्यको विकल्प नभएको निष्कर्ष निकालेको छ। माओवादीसँगको गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै महासमिति बैठक समापन पनि भएको छ।

विहीबार सम्पन्न बैठकले नीति, समसामयिक र सांगठनिक प्रस्ताव तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ। बैठकले उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको हो।

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको देशको आर्थिक अवस्था र भावी कार्य दिशा सम्बन्धी प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । महामन्त्री थापाले प्रस्ताव र प्रतिवेदन पारित गरिदिन आग्रह गरेपछि बैठकमा सहभागी महासमिति सदस्यहरुले ताली बजाएका थिए।

सभापति शेरबहादुर देउवाले महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने बताएका छन् । महासमिति बैठकको समापन गर्दै देउवाले सुझावहरू समेटिने बताए ।

उनले भने, ‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्ने छ ।’

वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रूपमा सरकारलाई सुशासन कायम गराउन निरन्तर सुझाव दिइरहेको उनको भनाइ छ।

‘कांग्रेसलाई वैचारिक रूपमा अनुशासित ऊर्जावान बनाउन यो बैठकले ऐतिहासिक महत्व राखेको छ’, उनले भने । देउवाले ८ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा कांग्रेसले देशको राजनीतिमा भूमिका खेलिरहेको बताए ।

देउवाको सन्देश- माओवादीसँग निरन्तर सहकार्य

देउवाले वर्तमान सरकारलाई निरन्तर सहयोग गर्दै “राष्ट्रहितमा काम गर्न प्रोत्साहित गर्ने दायित्व आफ्नो पार्टीको भएको” बताएका छन्। बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारप्रतिको प्रतिबद्धता दोहोर्‍याएका हुन् । सत्ता गठबन्धनबारे अनेक अडकलबाजी हुन थालेका बेला देउवाको अभिव्यक्तिलाई महत्त्वका साथ हेरिएको छ।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको एउटा प्रस्ताव विशेष चर्चामा थियो।

आगामी चुनाव एक्लै लड्ने भन्ने उनको प्रस्तावले सत्ता गठबन्धनलाई अप्ठेरोमा पर्ने विश्लेषण तीव्र बनाइदिएको थियो।

तर सभापति देउवाले भने, “नेपाली कांग्रेस वर्तमान सरकारको प्रमुख घटकको रूपमा मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गरेर राष्ट्रहितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो।”

प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पूर्णता दिनेछ। यसैको आधारमा आगामी केन्द्रीय समितिले प्रतिवेदन प्रकाशित गर्नेछ’, सभापति देउवाले भने, ‘महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्वको आधार बनेको छ। विगतमा आन्दोलन र अभियानको नेतृत्व गर्यौँ, अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ।’ उनले काँग्रेस सदैव नेपाली राजनीतिको मियोकारुपमा रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढ्ने बताए।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा पार्टी र सरकार सञ्चालनका सन्दर्भमा महत्वपूर्ण सुझाव प्राप्त भएको बताए। ‘कांग्रेस जहिले पनि मुलुकको मध्यमार्गी पार्टीको रुपमा स्थापित हुँदै आएको छ । यो धारलाई दायाँबायाँ हुन दिँदैनौँ’, उनले भने।