रवि लामिछानेविरुद्धको उजुरी, यसकारण पर्नसक्छन उनी कानूनी झन्झटमा
पोखराको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितहरूले प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरूद्ध जाहेरी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर थापाले जानकारी दिए।
सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछानेविरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन्।
सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ।
प्रहरीले पुर्पक्षका लागि थुनामा रहेका आइटी अफिसर भगेश्वर अर्याललाई कार्यालयमा झिकाएर अनुसन्धान गरिरहेको छ। समितिका संयोजक किरण श्रेष्ठले यसमा कुनै पनि व्यक्तिमाथि पूर्वाग्रह नभएको बताए।
कारवाहीमा पर्न सक्छन् रवि
पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड ऋण लिएको खुलासा भएपछि उनले कतिपय सञ्चार माध्यममा सहकारीबाट ऋण लिन नहुने कानुनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताउँदै पानीमाथि चोखो हुने प्रयास समेत गरेका थिए। रवि लामिछानेकै नेतृत्वमा खोलिएको ग्यालेक्सी फोर के टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीबाट कानुनविपरीत दस करोड रूपैयाँ ऋण लिएको हो।
पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण, एड्भान्स (पेश्की) लगायत विभिन्न शीर्षकमा गोरखा मिडियाले सूर्यदर्शन सहकारीबाट दस करोड रूपैयाँ लगेको उल्लेख गरेको छ।
सूर्यदर्शन ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडियाका सञ्चालक जिबी (गितेन्द्र राई) कै नेतृत्वमा खुलेको सहकारी हो। उनीविरूद्ध बचतकर्ताले उजुरी दिएपछि अहिले फरार छन्। उनको नाममा प्रहरील पक्राउ पुर्जी जारी गरेको छ।
सहकारीबाट गोरखा मिडियाले कानुन मिचेर ऋण लिने समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एमडी थिए। उक्त मिडियामा उनी सेयरधनी समेत थिए।
“रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको,” प्रतिवेदनमा जनाइएको छ । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिन भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले छानबिन अघि बढाएको थियो ।
रविले कम्पनीको कार्यक्रम उत्पादनमा व्यस्त भएकाले शेयर किन्दा कम्पनीले के-के गर्यो आफूलाई थाहा नभएको तर्क गरेका छन् भने शेयर बेच्दा सित्तैमा लिएको शेयर सित्तैमा दिन पनि लेनदेन भएको प्रमाण चाहिने भएकाले ल्याप्चेसहित कागज गरेको स्विकारेका छन्।
उनले जे स्विकारेका छन् त्यो कम्पनी ऐन २०६३ को दफा १६० को उपदफाहरूमा भएका प्रावधान अनुसार ५० हजार जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुनसक्छ।
गोर्खा मिडियाले कानुन विपरीत विभिन्न सहकारीबाट ऋण लिएको विवरणहरू सार्वजनिक भएका छन्। ऐनको दफा १६० को उपदफा (ज) अनुसार ऐन बमोजिमको विवरण नदिने वा झुट्टा विवरण दिने शेयर धनीलाई सो सजाय हुनसक्ने प्रावधान छ।