राष्ट्रियसभामा भएको गल्तीमा कांग्रेसको आत्मसमीक्षा, देउवालाई मनमनै त्रास
सत्ता गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको परिणामलाई लिएर छलफल भएको छ । गलबार साँझ बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचन परिणाम र कोशीमा एक सिट गुमेको स्थितिबारे प्रारम्भिक छलफल भएको र गम्भीर तथा चिन्ताजनक रहेको विश्लेषण गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।
बैठकपछि बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यस विषयमा पछि पनि छलफल हुनेछ। माओवादी उम्मेदवारभन्दा पनि समग्र गठबन्धन उम्मेदवार पराजित भएको हो भन्ने कुरा भयो। यो गठबन्धनकै सरोकारको विषय हो।’
कांग्रेसका प्रमुख सचेतकसमेत रहेका लेखकले कोसी प्रदेशमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको बताए ।
लेखकले कोसीको परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले थप छलफल हुने बताए ।
“कोसीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ । गठबन्धन एकमुष्ट छ, एकीकृत छ । गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन । परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ,” उनले भने ।
तर, राष्ट्रियसभाको परिणामले गठबन्धनको निरन्तरतामा प्रतिकूल असर नपार्ने उनको भनाइ छ । गठबन्धनका नेताहरूबीच यसबारे थप छलफल गर्ने सहमति भएको छ ।
डराइरहेका छन् देउवा
माघ ११ गते अरू ६ प्रदेशमा गठबन्धनको भावनाअनुसार नै नतिजा आएको थियो । तर, मुख्यमन्त्री निर्वाचनदेखि नै पेचिलो बनेको कोशीमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन् ।
कार्की पक्का जित्नुपर्ने मतभार कोशीमा थियो । तर, गठबन्धन दल कांग्रेसको एक समूहबाट भोट क्रश हुँदा देउवाले सौहाद्र्र बनाउन खोजेको गठबन्धनमा अविश्वासको बिउ रोपिएको छ । असन्तुष्टि भए पनि कोशीको यो विद्रोहले सत्ता गठबन्धन भत्किनेसम्मको स्थिति भने नआउने माओवादीका नेताहरूले बताएका छन् । तर, कोशीमा माओवादीको इन्द्र आङ्वोको सट्टा कांग्रेसबाट विद्रोह हुँदा केदार कार्की मुख्यमन्त्री भएको धेरै भएको छैन ।
यसबीचमा फेरि भोट क्रश हुनुले असन्तुष्टि भने बढाएको छ ।
‘माओवादीका वर्षमान पुनसहितका केही नेताले कोशीमा फेरि पनि धोका भयो भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । तर, प्रधानमन्त्रीले अहिलेसम्म आपत्ति जनाउने गरी प्रतिक्रिया दिनुभएको छैन,’ कांग्रेसका एक नेता भन्छन्, ‘गत चुनावदेखि कोशीको सरकार गठन र अहिले राष्ट्रिय सभामा कांग्रेसभित्रैबाट भोट क्रश भएपछि हाम्रो सभापति सशंकित बन्नुभएको चाहिँ सत्य हो ।’
गठबन्धन दलमा आपसी विश्वास सिर्जना गर्दै देउवा आफू प्रधानमन्त्री हुने चाहनामा छन् । तर, आफूलाई समेत अप्ठ्यारो पार्ने गरी कहिले मुख्यमन्त्री त कहिले राष्ट्रिय सभामा अस्वाभाविक खेल भएको बुझाइ देउवाको रहेको एक नेता बताउँछन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले खुलारूपमै सत्ता ढाल्ने चेतावनी दिइरहेका बेला कोशीबाटै गठबन्धनमा अविश्वास पैदा भएपछि शेखर पक्ष पनि केही रक्षात्मक बनेको एक नेता बताउँछन् ।
अप्रत्याशित नतिजा आएपछि विजयी भए पनि सिटौलाले छानबिनको माग गरेका छन् । उनले खुलेर शेखर पक्षबाट असहयोग भएको आरोप लगाएका छैनन्, तर माओवादी उम्मेदवार हार्नुमा कांग्रेस सांसद सुनिल शर्मालगायत जिम्मेवार रहेको नेताहरू बताउँछन् ।