प्रेस सेन्टर नेपालको स्थापना दिवस, वीरगञ्जमा आज प्रचण्डको सम्बोधन

मूलखबर संवाददाता
काठमाडौं

प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको स्थापना दिवस कार्यक्रम बीरगन्जमा जारी छ। २० औँ स्थापना दिवसको तयारीका सम्बन्धमा वीरगञ्जमा आइतबार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डा तय गरी सकेको छ।

बैठकमा सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनलगायत विषयमा छलफल गरिने ‘एजेन्डा’ तय भएको संगठनका महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो । प्रदेशगत रुपमा समूह विभाजन गरी एजेन्डामा दफावार छलफल हुने उहाँले बताउनुभयो।

 कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहेको र अन्तिम दिन अर्थात् आज स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी हुने महासचिव पौडेलले जानकारी दिनुभयो।

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी, विभिन्न समिति र उप समिति सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला, एशोसियटलगायतका कमिटीका अध्यक्ष तथा प्रदेश पदाधिकारीहरुको कार्यक्रममा सहभागिता छ।

आजको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा मन्त्री शक्ति बस्नेत लगायतको सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसका अवसरमा आज बिहान ८ बजेदेखि १ बजेसम्म प्रभातफेरीसहित वीरगञ्जको नगर सभा गृहमा स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम राखिको छ।