बाबुरामले सुझाए देश बनाउने सातबुँदे सूत्र

मूलखबर संवाददाता
काठमाडौं

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले केही समयअघि मध्य पहाडी राजमार्गको एक हजार सात सय ७६ किलोमिटर यात्रा गरेका थिए।

त्यो भ्रमणपछि बाबुरामले युवा बेरोजगारी र विदेश श्रम-पलायन सबैभन्दा ठूलो वर्तमान चुनौती रहेको औँल्याएका थिए।

पछिल्लो समय बाबुराम गोरखामा थिए। गृहजिल्ला गोरखाको लिगलिगे भ्रमणपछि ७ बुँदामा आफ्ना अनुभूति साझेदारी गर्दै उनले देश अल्पविकासको संरचनात्मक दुष्चक्रमा फसेको बताएका छन् । यसको अन्त्य गरेर देशलाई आगामी केही दशकभित्रै विकसित मुलुकको स्तरमा पुर्‍याउनुपर्ने अर्को चुनौती रहेको उनले बताएका छन् ।

बाबुरामले अघि सारेको सातबुँदे सूत्र

१. पछिल्लो चरणमा ग्रामीण अर्थतन्त्रको तीव्र विघटन र बढ्दो शहरीकरण सँगसँगै गाउँका रित्तिँदैछ भने शहरहरू कंक्रिट जङ्गल बन्दैछन् । क्षेत्रीय विकास योजनाको विद्यार्थीको नाताले यो प्रवृत्तिलाई रोक्न आफैँ गाउँका फर्केर केही गर्नपर्छ भन्ने मेरो चाहना हो । आफ्नो पुर्ख्यौली घरको रेट्रोफिटिंग, बन्दै गरेका भौतिक पूर्वाधारहरूको निरीक्षण, गाउँलेहरूसँगको अन्तरसंवादपछि ‘गाउँको शहरीकरण’ गरेर मानिसहरूलाई त्यहीँ राख्न सकिन्छ भन्ने विश्वास बढेको छ । अब खाँचो गाउँमै कृषिको आधुनिकीकरण, साना तथा मध्यम उद्योग र पर्यटनको प्रवर्द्धन आदि गरेर सम्मानजनक र आयमूलक रोजगारी सिर्जनाको छ ।

२. केही अगुवा साथीहरू र परिवारसहित ऐतिहासिक लिगलिगकोट भ्रमणको विशेष अर्थ छ ।पन्ध्रौं-सोह्रौं शताब्दीसम्म वर्तमान नेपालको अधिकांश भूभागमा कविलाइ (Tribal) प्रथा थियो ।लिगलिगकोटमा वर्सेनी दौड प्रतियोगिताबाट नायक/राजा छानिन्थ्यो । त्यस्तो स्थानीय कविलाइ प्रथाको अन्त्य गरेर बलियो र ठूलो केन्द्रिकृत राज्य बनाउनु ऐतिहासिक आवश्यकता थियो ।संसारभर र छरछिमेकमा सामन्तवाद र राजतन्त्रात्मक प्रणाली छाइसकेको थियो । त्यही आवश्यकता पूर्ति गर्न द्रव्य शाहलाई लिगलिगकोटमा ल्याएर राजा बनाइएको थियो । त्यही वंशानुगत राजतन्त्र विस्तारित भएर नेपालमा बीसौं शताब्दीसम्म (वीरेन्द्र शाहको पालासम्म) कायम रह्यो । तर, एक्काइशौं शताब्दीसम्म आइपुग्दा संसारभर लोकतान्त्रिक गणतन्त्र आधुनिक राज्यको मुख्य चरित्र बनिसकेको थियो । केही ढिलो भए पनि हामीले निकै ठूलो बलिदानीपूर्ण सङ्घर्षमार्फत २१ औं शताब्दीको सुरूमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था कायम गर्‍यौँ । यसरी कविलाइ गणतन्त्रबाट वंशानुगत र केन्द्रीकृत राजतन्त्र हुँदै सङ्घीय लोकतन्त्रिक गणतन्त्रसम्मको ऐतिहासिक यात्राको महत्त्व बुझ्न सबैले एकपटक लिगलिगकोट पुग्नैपर्छ ।

वैचारिक/राजनीतिक
३. विश्व उत्तर-पुँजीवादी पुनर्संचना (Post-capitalist restructuring) को प्रसववेदनामा छ । नेपाल भने अझै पुँजीवादी संक्रमण (capitalist transition) को अवस्थामा छ । यो २०० वर्षको ऐतिहासिक दूरी छोटोभन्दा छोटो अवधिमा पूरा गरेर समग्र विश्व र नेपाललाई आपसी पदचाप मिलाउँदै अग्रगमनको दिशामा उन्मुख गराउनु अबको मुख्य कार्यभार बनेको छ ।

४. मानव समाजलाई यसको उत्पत्तिदेखि अहिलेसम्म तत्कालीन भौतिक परिस्थितिमा आधारित उन्नत चेतनाद्वारा संश्लेषित विचार (ideology) ले दिशाबोध गरेर नै यहाँसम्म ल्याएको हो । अहिलेका विभिन्न ‘धर्म’ प्राचीनकालका समाजका दिशाबोधक विचार हुन् । १७औं-१८औं शताब्दीको वैज्ञानिक क्रान्ति, औद्योगिक क्रान्ति सँगसँगै स्वतन्त्रता, समानता र भ्रातृत्वमा आधारित उन्नत विचारको रूपमा आधुनिक प्रबोधन (Enlightenment) को विकास भयो । २१औं शताब्दी सँगसँगै विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको मानिन्छ र विश्वले नव-प्रबोधन (New Enlightenment) को खोजी गरिरहेको छ । पहिलो औद्योगिक क्रान्तिको चरणमा रहेको नेपालले एकै साथ चारवटै औद्योगिक क्रान्तिका चरण पार गर्नुछ । अतः हामीले सबै प्रकारका रूढीवाद (dogmatism) वा अनुभववाद (empiricism) बाट मुक्त भएर समय र परिस्थिति सापेक्ष नयाकक अग्रगामी विचार निर्माण र ग्रहण गर्नुछ । त्यसका निम्ति ‘स्वतन्त्रता’ मा जोड दिने ‘उदारवाद’ र ‘समानता’ मा जोड दिने ‘साम्यवाद’ भन्दा अघि बढेको स्वतन्त्रता, समानता र समृद्धिको समुचित सन्तुलनसहितको नयाकक र उन्नत विचारको संश्लेषण आजको आवश्यकता हो ।

५. निजी मुनाफाको आधिक्यीकरण (maximization of private profit) मा आधारित अर्थ-राजनीतिक प्रणाली र राष्ट्र-राज्य रहुन्जेल राज्यहरूबी प्रभुत्व विस्तार र विभिन्नरूपका युद्धको चक्र चलिरहन्छ । आगामी दशकहरूमा यस हिमाली क्षेत्रमा विश्व पुँजीवादको बजार कब्जा र प्रभुत्वको लडाइँ अरू तीव्र हुँदैछ । क्षेत्रीय एकाधिकार पुँजीवाद र राज्य-पुँजीवादको वर्चस्वको प्रतिस्पर्धा पनि भीषण हुँदैछ । पुँजीवादी वैचारिक संकटलाई ‘सभ्यता राज्य’ को खाष्टोले छोपेर नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर चुनौती र अतिक्रमण हुने खतरा मडारिँदै छ । यो स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमार्फत लोकतान्त्रिक राजनैतिक स्थीरता कायम गर्ने र देशभित्रका विभिन्न वर्ग,जाति, क्षेत्र, लिङ्ग र समुदायबीचमा सङ्घीयता र समावेशी लोकतन्त्रको सही अभ्यास गरेर आन्तरिक राष्ट्रिय एकतालाई अझै बजबुत पार्ने विषय नेपालको निम्ति अत्यन्त महत्त्वपूर्ण भएको छ ।

६. युवा बेरोजगारी र विदेश श्रम पलायन तत्काल देशको सबभन्दा ठूलो चुनौती बनेको छ । परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रको तीव्र विघटन, उत्पादनमूलक औद्योगिक क्षेत्रको विकासमा सुस्तता, वित्तीय र आसेपासे पुँजीवादको बिगबिगी, सबै क्षेत्रमा चरम भ्रष्टाचार र बेथिति आदि कारणले देश अल्पविकासको संरचनात्मक दुष्चक्रमा फसेको छ । यसको अन्त्य गरेर नेपाललाई आगामी केही दशकभित्र विकसित मुलुकको स्तरमा पुर्‍याउनु छ । त्यसका निम्ति अहिलेको सारसँग्रहवादी,दिशाविहीन,कछुवा गतिको विकास नीतिले हुँदै हुँदैन । त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति मातहतको राष्ट्रिय विकास प्राधिकरणले २० वर्षे आर्थिक क्रान्तिको गुरूयोजना बनाएर तीन तहका सरकारमार्फत कडाइपूर्वक लागू गरिनुपर्दछ । ‘दुई अंको वृद्धिदर, दुई दशक निरन्तर’ लाई मूल नारा बनाएर तीव्र वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दीगोपन र मानवीय खुसीका चार आयामलाई सन्तुलित ढंगले अघि बढाइनुपर्छ । आगामी दशकमा पहिलो र तेश्रो ठूलो अर्थतन्त्र हुने चीन र भारतको मूल्य शृंखलासँग जोड्ने, बजार/राज्य/समुदायको सन्तुलित भूमिका हुने विकास नीति अनुसरण गरिनुपर्छ ।

७. परन्तु, प्रसिद्ध नीतिकथामा ‘बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने ?’ भनेझैँ यी सबै काम कसले गर्ने ? भन्ने प्रश्न निर्णायक महत्त्वको छ । लोकतन्त्रमा राज्यको नेतृत्व दलहरूले नै गर्ने हो । कुनै चमत्कारिक पुरूष खोज्ने युग यो हैन, विद्यमान प्रमुख दल र नेताहरूप्रतिको जनताको आक्रोश जगजाहेर छ । नयाँ उदयमान दलहरूप्रति जनताको आशा बढ्दै जानु सकारात्मक छ । तर, कसैले पनि यी अहम् वैचारिक, भूराजनीतिक, आर्थिक प्रश्नहरूको समष्टीगत समाधानको वस्तुसंगत मार्गचित्र प्रस्तुत गर्न सकेको देखिन्न । यो स्थितिमा हामीले विगतका कमीकमजोरीहरूको निर्मम आत्मसमीक्षा गर्दै र विचार,नीति, कार्यक्रम, कार्यशैली मिल्ने शक्ति/व्यक्तिहरूसँग सहकार्य गर्दै देशलाई भरपर्दो अग्रगामी वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नैपर्छ ।

बाबुराम भट्टराईको सामाजिक सञ्जालबाट साभार-सम्पादक