योगी ठानिएका ‘लिटिल बुद्ध’को भोगी पाटो, असामान्य स्तरको विलासी जीवन

मूलखबर संवाददाता
काठमाडौं

बूढानीलकण्ठको हात्तीगौडास्थित आलिसान घरमा बस्दै आएका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार पक्राउ परे । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । बम्जनलाई बुधबार सार्वजनिक गरेको प्रहरीले सर्लाही पठाएको छ ।

उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो ।

बम्जनले प्रहरीबाट जोगिन घरको चारैतर्फ नाइट भिजन सुविधायुक्त सीसी क्यामेरा जडान गरेका थिए । तर, मंगलबार साँझ ७:१५ बजे सीआईबीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । प्रहरीलाई एक्कासि घरभित्र छिर्न सक्ने अवस्था थिएन । बलजफ्ती ढोका खोलेर जाँदा उनी भाग्ने सम्भावना पनि उत्तिकै थियो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । प्रहरीलाई एक्कासि घरभित्र छिर्न सक्ने अवस्था थिएन । बलजफ्ती ढोका खोलेर जाँदा उनी भाग्ने सम्भावना पनि उत्तिकै थियो ।

अझै पनि भन्छन् तपस्वी हुँ

सीआईबीले पक्राउ गरेर ल्याएलगत्तै उनीमाथि सोधपुथ र बयान लिने प्रयास गरेको थियो । तर, प्रहरी अधिकारीसँग बम्जनले आफू तवस्वी र गुरु भएकाले बाहिरी संसारबारे कुनै जानकारी नै नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले सोधपुछ गर्ने प्रहरी अधिकारीसँग भनेका छन्, “मलाई किन यस्तो आरोप लाग्यो ? मलाई थाहा छैन । खासमा प्रहरीले मलाई खोजेको बारेमा पनि बेखबर छु । म जीवन दर्शन कोरेर बस्ने मानिस हुँ ।”

असामान्य स्तरको विलासी जीवन
बूढानीलकण्ठको घरबाट पक्राउ गरेसँगै उनको घरबाट स्वदेशी र विदेशी गरी साढे ३ करोड जति नगद बरामद भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार विभिन्न १७ देशको मुद्रा ३ करोड ३४ लाख ६७ हजार ९०६ रूपैयाँ बराबरको विभिन्न देशको पैसा बरामद भएको छ । त्यसमध्ये नेपाली रूपैयाँ ३ करोड ४ लाख जति थियो । त्यसपछि अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनियाँ युआन ५ लाख भन्दा बढीको रहेको छ ।

अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रूपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि फेला परेको छ ।

ब्लेड वायरको घेरा लगाएको घरभित्र बम्जनले जिमखाना नै खडा गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘त्यहाँ उनी नियमित जिम गर्दा रहेछन् ।’ घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम भेटिएको छ ।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

आरोपीले १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बाल यौन शोषण गरेको आरोप छ । सो मुद्दा अहिले सर्लाही जिल्ला अदालतमा विचाराधीन छ ।