बेपत्ता बाबालाई सम्झदै २४ वर्षपछि छाेरीले लेखिन् `हामीलाई सहानुभूति हाेइन न्याय देउ´
पुस २४, अरूले विभिन्न ढंगबाट याे दिनलाई सम्झलान्, कसैले जन्मदिनको रूपमा, कसैले एनिभर्सरीकाे रूपमा कसैले केही प्राप्ति भएको खुसियालीकाे दिनमा तर याे दिनलाई एक छाेरीले आफ्ना बाबालाई विचार राखेकै आधारमा राज्यले बेपत्ता पारेकाे दिनकाे रूपमा सम्झेकी छिन ।
गाेरखा जिल्ला तत्कालीन हर्मी गाविसका एक हाेनहार युवा राजेन्द्र ढकाललाई माओवादी आस्था राखेकै कारण तत्कालीन राज्य सत्ताले २०५५ सालमा तनहुँँबाट गिरफ्तार गरी हाल (२४ वर्ष) सम्म वेपत्ता अवस्थामा राखेको छ ।
गणतन्त्र आइसक्दा र गणतन्त्रले १६ वर्ष पूरा सक्दा पनि ढकाल लगायत ३ हजार भन्दा बढि नागरिककाे अवस्था सार्वजनिक हुन सकेकाे छैन । उनी ढकालकाे सम्झनामा उनकी छाेरी मञ्जिमा ढकालले आफुहरूलाई अब सहानुभूति हाेइन न्याय चाहिएको बताएकी छिन् ।
हेराैं उनले बाबा बेपत्ताकाे २४ वर्षपछि लेखेकाे भावाेत्तेजक स्टाटस जस्ताकाे तस्तै –
आज मेरो बुवा राजेन्द्र ढकाललाई राज्यले बलपूर्वक बेपत्ता पारेको दिन । २०५५ साल पुष २४ गते तनहुँबाट तत्कालीन प्रहरी निरीक्षक कुश बिक्रम राणा नेतृत्वको टोलीले प्रकाउ गरि बेपत्ता पारेको हो । सोही दिन बुवा सगै प्रकाउ गरिएका दुई शिक्षकहरुलाई केही दिनमै छोडिए पनि गोरखा जिल्ला बारको अध्यक्ष समेत रहनुभएको मेरो बुवाको अवस्था अहिले सम्म अज्ञात छ । शान्ति प्रक्रियामा आएको यतिका बर्ष भयो, २०६४ सालमा सर्वोच्च अदालतले राजेन्द्र ढकाल लगायतको मुद्दामा फैसला गर्दै यो प्रक्रिया तुरुन्त टुङ्याउन आदेश दिएपनी विभिन्न स्वार्थ समुहहरुको प्रयोग र बेवास्तामा हामी हजारौं द्वन्द पीडित परिवार परिरह्यौ । यस प्रक्रियामा भैरहेको ढिलाइले हामी चरम निराशामा छौ । हाम्रा धेरै आशाहरु निराशामा परिणत भएका छन् । हामीलाई कसैको सहानुभूति भन्दा पनि न्याय चाहिएको छ । त्यसैले, तत्कालीन द्वन्दरत मुख्य पक्ष माओवादी सरकारमा भएको यसै समयमा न्याय प्रत्याभूति हुने गरि यस प्रक्रियालाई टुङयाउन नेतृत्वदायी भुमिका खेलोस भन्ने फेरि पनि अपेक्षा छ ।
(मञ्जिमा प्रेस सेन्टर नेपाल गाेरखापत्र शाखाकी अध्यक्ष, सञ्चारिका समाज नेपालकी केन्द्रीय सदस्य र स्थापित पत्रकार हुन्)