लिटिल बुद्ध बताउने बलात्कारी बम्जन, यसरी परे पक्राउ
‘लिटिल बुद्ध’ भनेर प्रचारित र पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका कथित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् ।
तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार बूढानीलकण्ठबाट पक्राउ गरेको हो।
प्रहरीको त्यो अपरेशन
८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले बमजनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो। बमजन विरुद्ध मानिस बेपत्ता र बालात्कार गरेको आरोपसहित उजुरी परेपछि करिब साढे तीन वर्षदेखि प्रहरीले उनलाई खोजिरहेको थियो।
२०७७ असार ४ गते बिहान ४ बजे सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्रहरीले घेरा हाल्यो। बलात्कारको आरोप लागेका तपस्वी बमजनलाई पक्राउ गर्ने प्रहरीको यो दोस्रो अप्रेसन थियो। बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार भएर बसेका थिए ।
पछिल्लो समय सीआईबीले बम्जनको खोजीका लागि छुट्टै टिम परिचान गरेको थियो । त्यही टोलीले केही शंकास्पद मानिस र उनीसँग नजिकका मानिसको निगरानी गर्यो ।
सीआईबी स्रोतका अनुसार उनी एक हप्ता अघिमात्रै काठमाडौंको बूढानीलकण्ठ छिरेको सूचना प्रहरीले पाएको थियो । त्यही सूचनाको आधारमा सीआईबीको टोलीले बूढानीलकण्ठ क्षेत्रको शंकास्पद क्षेत्र नै निगरानीमा राख्यो ।
मंगलबार साँझ भने सीआईबीको टोलीले उनी बसेको आशंका गरेको घरमा छापा मारेर नियन्त्रणमा लिएको हो । सीआईबीको टोलीले छापा मारेको चाल पाउना साथ घरको झ्यालबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । त्यही बेला उनी पक्राउ परेका हुन् ।
पक्राउ गर्न नसकेपछि प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ ।
आरोपै आरोप
बोम्जनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको छ। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।
आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको छ। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको बताइएको छ।
उनीविरूद्ध गंगामाया तामाङले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ।
बम्जनको आश्रममा पुगेका आफ्ना छोरी चेली हराएपछि २०७४ तिर पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । तर, ६ वर्षसम्म प्रहरीले बम्जनलाई फेला पार्न सकेका थिएन । मंगलबार सीआइबीले बम्जनलाई बुढानीलकण्ठबाट पक्राउ गर्न सफल भएको छ ।
उनीमाथि मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता बनाएको आरोप छ । उनले तीन जना किशोरीलाई भने बलात्कार गरेको र पोल खुल्ने डरले हत्या गरेको आरोप छ ।
त्यही ब्यहोराको उजुरी परेको थियो । उनीहरूको हत्या भएको हुन सक्ने आशंका गरिए पनि प्रहरीले प्रमाण भेट्टाउन सकेको छैन । बम्जनलाई पक्राउ गर्न प्रहरीले पटकपटक बारा, सिन्धुली र सिन्धुपाल्चोकमा छापा मारे पनि सफल भएको थिएन । अन्नत बम्जन बुढानीलकण्ठमा श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका हुन् ।
मकवानपुरका सञ्चलाल बाइबालाई खोज्ने क्रममा प्रहरीले बम्जन प्रकरण पछाडिको रहस्य छेऊ पुगेको थियो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६, बाँडेगाउँको तोड्केमा रहेको आश्रममा छापा मार्दा प्रहरीले नुनको पोका बरामद गरेको थियो ।
सो नुन हत्यापछि शव गाड्न प्रयोग गरिएको आशंका छ । चार फिट गहिरो खाल्डो खन्दा नुनको पोका भेटिएपछि यो आशंका गरिएको थियो । यद्यपि, शवको अवशेष भने भेटिएन ।
त्यसअघि ३० भदौ २०७६ मा रौतहटकी एक किशोरीले बम्जनले आफूमाथि बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् । तर, दबावका कारण उनले उजुरी दिन सकिनन् र बम्जन जोगिएका थिए । पछि पीडित भनिएकी किशोरीले जबरजस्ती करणीको कसुरमा उजुरी दिएपछि अहिले बम्जन प्रकरण फेरि चर्चामा आएको थियो ।
त्यो बेलामा प्रहरीले बम्जनलाई खाेजे पनि भाग्न सफल भएका थिए । उनी आरोप लागेदेखि सार्वजनिक गतिविधिमा देखिएका थिएनन् ।
प्रहरीले सिन्धुपाल्चोक, लमजुङ, सर्लाही, मकवानपुरलगायतका क्षेत्रका रहेका आश्रममा पनि निगरानी बढाएको थियो ।