प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन- त्रिविमा उपकुलपतिको अर्को विज्ञापन
त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको थियो । उक्त सूचनामा उपकुलपतिका लागि दरखास्त दिने व्यक्तिका लागि विभिन्न छ वटा मापदण्ड तोकिएको थियो ।
ती मापदण्डमध्ये विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको बेहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त व्यवस्था शंसोधन गर्न निर्देशन दिएका थिए।
प्रचण्डको निर्देशनपछि समितिले पुस २० गतेको सूचना रद्द गरिएको सूचना आइतबारनै अर्को बैठक बसेर समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन तर उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ ।
प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए।
शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु भनेको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डले बताएका थिए।
त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट हुने थियो।