माओवादी विशेष रूपान्तरण अभियानः पार्टी केन्द्रको निष्कर्ष- अन्तरविरोधको अन्त्य
नेकपा माओवादी केन्द्रले जनतासँग माओेवादी विशेष रुपान्तरण अभियानले पार्टीका विभिन्न तहमा देखिएका अन्तरविरोधहरु समाधान भएको निष्कर्ष निकालेको छ।
चार महिने अभियान सम्पन्न भएपछि मंगलबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियानले पार्टीभित्र, जनवर्गीय संगठन, मोर्चाभित्रका अन्तरविरोधहरू सतहमा आएर समस्या समाधानको जबरजस्त आधार तय भएको बताए।
साथै पार्टीको संगठन तल्लो तहबाटै चलायमान भएको बताउँदै उनले भने, ‘जनतालाई माओवादी चुनावमा मात्रै होइन अरु बेलामा पनि आउने रहेछन् भन्ने परेको छ । आशाको झिल्को देखिएको छ, संगठन बनेका ठाउँमा सक्रिय भएका छन् नभएका ठाउँमा बनेका छन् । केही पलायन भएपछि अभियानको क्रममा उल्लेख्य संख्यामा पार्टी प्रवेश गरेका छन् ।’
अभियानका क्रममा पहिले बनेका ठाउँको संगठन सुदृढ भएको प्रवक्ता सापकोटाको भनाइ छ । त्यस्तै, पार्टी प्रवेश, नवीकरणलगायत काम भएको जानकारी दिए । जनता पार्टीप्रति आकर्षित भएको उनले बताए ।
“जनता हामीतिर फर्केका छन् । उहाँहरूका गुनासा छन् । तपाईंहरू फेरि आउनुपर्छ भन्ने छ,” सापकोटाले भने ।
माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको दाबी पनि गरेको छ।
पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए। उनले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताए।
उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनःगठनका लागि तयारी गर्दैछु भन्ने छ। गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ।’
माओवादी केन्द्रले राष्ट्रियसभामा घाइते, अपांगता भएका, अहिलेसम्म अवसर नपाएकालाई ल्याउने भएको छ । प्रवक्ता सापकोटाले राष्ट्रिययसभाबारे अवसर नपाउनेलाई ल्याउनुपर्छ भन्नेबारे पदाधिकारी तहमा छलफल भएको बताए ।
उनले भने, ‘अहिलेसम्म पार्टीमा हामीले पाउने सीट गठबन्धनमा भागबन्डालगायतका नीतिगत विषयमा छलफल भएको छ । सबैतिरबाट सिफारिस आएपछि ठोस छलफल होला । पार्टीको बैठकले गठबन्धनबाटै जान्छौं भनिसकेका छौं । पार्टीमा धेरै घाइते, अपांग, अहिलेसम्म अवसर नपाएकाहरूलाई ल्याउनुपर्छ भनेर प्रारम्भिक छलफल भएको छ । त्यस विषयमा छलफल होला । अहिले चाहिँ गठबन्धनमा छलफल हुँदैछ ।’