मेलमिलाप दिवसमा शीर्ष नेताको सन्देशः गणतन्त्रपक्षधर एकबद्ध, व्यवस्था बचाउन प्रतिबद्ध

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार ७ पार्टीका शीर्ष नेतालाई एकै मञ्चमा निम्त्यायो। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी सहभागी थिए।

 सो मञ्चमा उँभिएर सत्ता र प्रतिपक्षका सबै शीर्ष नेताले गणतन्त्रका उपलब्धि जोगाउन एक ठाउँमा रहेको सन्देश दिएका छन् । नेताहरूले एउटा साझा संकल्प गरे, परिवर्तनका उपलब्धि रक्षाका लागि हामी एक ठाउँमा छौं । कार्यक्रममा शुरूमै बोलेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेनन्, तर सरकारको कार्यशैलीमा सन्तुष्ट रहेको भनेर कांग्रेसप्रति कटाक्ष गरे ।

‘अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन,’ ओलीले भने, ‘सत्ताको अमनचयनमा खलल पुर्‍याउन चाहँदिनँ, त्यसकारण म त्यतापट्टि बिल्कुलै जान चाहन्नँ ।’ ओलीले यसो भनिरहँदा कांग्रेस कार्यकर्ताबीच हाँसो गुञ्जिएको थियो ।

ओलीले राजतन्त्रको बहस नेपालबाट सकिएको बताए ।

‘राजतन्त्रको बहस अब आवश्यक छैन, दरबार हत्याकाण्डलगत्तै सकिएको हो । हामीले उचित निर्णय नगर्दा केही समय डमी राजतन्त्र चलेको हो । बाइमिस्टेक गएको भए फर्काउँदथ्यौं, तर अढाइ वर्ष जनता चुसेको राजतन्त्र फर्काउने कुरा हुन्छ ?’ ओलीले भने, ‘यी दलले गरेनन् भनेर दललाई जेलमा हालेर तानाशाह राजा बनाउन खोजेको ? होइन रे, संवैधानिक नै हो रे । संवैधानिक बनाउन खोजेको ? सेरेमोनियल त रामचन्द्रजी हुनुहुन्छ त, सेरेमोनिनयल राजा राख्नेबित्तिकै के हुन्छ ? कोही कहीँ पुग्दैनौं । राजतन्त्र असान्दर्भिक भइसक्यो ।’

नेता डा. बाबुराम भट्टराईले राजतन्त्र फर्किने कुरा फस्फोरस बलेर बन्ने काल्पनिक भूतजस्तो भएको बताए ।

बाबुरामपछि बोलेका माधव नेपालले कांग्रेसले मेलमिलाप दिवसको कार्यक्रम राख्दा आफूलाई शुरूमा सन्देह पैदा भएको सुनाए । ‘कता–कता के भयो नेपाली कांग्रेसलाई ? त्यो बेला राजासँगको मेलमिलाप नीतिको कुरालाई लिएर किन कार्यक्रम राख्नुपरेको होला ? फेरि सहकार्यको नयाँ विचार आयो कि क्या हो, नेपाली कांग्रेसमा थरिथरि विचार छन् । राजावादीले टाउको उठाइरहेको बेलामा, राजतन्त्रका लागि फागुन ७ गतेदेखि आन्दोलनको घोषणा भइरहेको बेलामा, नेपाली समाजमा गञ्जागोल गर्ने बेलामा के भएको होला भन्ने लागेको थियो । बेलाबखत ठूला नेताको खुट्टा कामेको देखेकै हो, तर प्रगिगामीको विरोधमा नयाँ एकता भएपछि म ढुक्क भएँ,’ नेपालले भने ।

प्रतिगामी शक्तिहरू चुप लागेर नबसेको र नेपालमा अस्तव्यस्त होस् भन्न चाहनेहरू बाहिर सक्रिय रहेको समयमा देशका प्रमुख शक्तिहरू मिल्नुपर्ने बताए ।

प्रधानमन्त्री भन्छन्- व्यवस्था विरोधी भाष्य बनाइँदै छ

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्रविरोधी भाष्य सिर्जना गर्न खोजिएको भन्दै परिवर्तनका लागि लडेका दलहरू मिल्नुपर्ने बताए ।

प्रचण्डले बालकुमारीमा भएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हो कि भनेर प्रश्न गरे । ‘अस्तिको घटना पूर्वानुमान गर्ने खालको थिएन, सामान्य छैन । जसरी दुईजनाको हत्या भएको छ, त्योभित्र अर्कै के छ ? लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त होइन ?’

सधैंझैँ संक्षिप्त बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रको खिलापमा वातावरण बनाउने प्रयास भइरहेको सन्दर्भमा गणतन्त्र पक्षधरहरू मिल्नुपर्ने बताए ।

‘मेलमिलाप भनेको राजासँग मात्र होइन, जनतासँग मिल्ने कुरा हो । लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र हो । गणतन्त्रको विकल्प भनेको सुदृढ गणतन्त्र हो । ओलीजीले पनि भन्नुभयो, हामी एक भएर जाऔं,’ उनले भने ।

देउवाले नेपालका दलहरूको मेलमिलापबाट विश्व नै चकित पर्ने गरेको समेत बताए ।