कांग्रेस बैठकः यी हुन् राष्ट्रियसभा सदस्यका मापदण्ड, गगनको मिसन प्रस्ताव
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि जारी बैठक केहीबेर अगाडि सम्पन्न भएको हो ।
बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टी सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
यस्तै, बैठकले जाजरकोट भूकम्पमा पार्टीले एक हजार घर बनाउने निर्णय गरेकोमा उक्त घर निर्माणमा सहयोग गर्ने आम कांग्रेसका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको छ ।
सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र जनतालाई सुशासन प्रत्याभूती हुने खालका सेवा प्रदान गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेसले शुक्रबार बालकुमारी घटेको घटनाको सत्यतथ्य छानबिन गरी पीडितका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार गर्ने र परिवारजनमा परेको क्षतिका बारेमा राज्यले विशेष निर्णय लिन बैठकले माग गरेको विश्वकर्माले बताए ।
विश्वकर्माले राष्ट्रिय सभा उम्मेदवारको मापदण्ड पनि तय गरेको पनि बताए ।
‘राष्ट्रिय सभामा कस्ता उम्मेदवार छनोट गर्ने निश्चित मापदण्ड तय गर्ने निर्णय गरेको छ’, उनले भने, ‘अहिलेसम्म अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका, छुटेका समुदायलगायतको मापदण्डका आधारमा उम्मेदवार बनाइनेछ ।’
गगनको मिसन प्रस्ताव
महामन्त्री गगन थापाले आफूहरूले ‘मिसन ०८४’ भन्न नपाउने बताएका छन् । कांग्रेसले तत्काल देखिने गरी काम गर्नुपर्ने र त्यसका आधारमा जनतासामु जानुपर्नेमा उनले जोड दिए ।
कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले नीति अधिवेशनबाट ‘मिसन गुणस्तरीय शिक्षा’, ‘मिसन सर्वसुलभ स्वास्थ्य’ र ‘मिसन मर्यादित रोजगारी’ तय गर्न प्रस्ताव गरे । यी विषय पूरा गरेर जनतामाझ जानुपर्ने उनले बताए ।
“अरू सबै दलसँग समय पनि छ, सुविधा पनि छ– अहिले भएन, हामी आउँछौँ र ठिक बनाउँछौँ भन्ने,” बैठकमा उनले भने, “तर, हामीले त्यो भन्न पाउँदैनौँ ।”
वर्तमान सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भएको उनले उल्लेख गरे । उनले कांग्रेसका मन्त्रीले गरेका सकारात्मक कामको सूची पनि मागे ।
“सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भयो । कांग्रेसका प्रत्येक मन्त्रीले आठ महिनामा गरेको यस्तो आठवटा कामको सूची दिनुस्, जसको कारणले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो,” महामन्त्री थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए ।