अमेरिकाले देख्यो नेपालमा हिंसाको खतरा, भन्न खोजेको के हो !

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाले नेपालमा राजनीतिक हिंसाको सम्भावना बढेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा सम्भावित राजनीतिक हिंसाका कारण नेपालमा सतर्कता बढाइएको जनाएको छ ।

“शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ ।

 ट्राभल एड्भाइजरीमा अमेरिकाले स्पष्ट शब्दमा नेपालमा हुने प्रदर्शन र भिडभाडमा नजान आफ्ना नागरिकलाई भनेको छ ।

अमेरिकाको नेपाललक्षित पछिल्लो ट्राभल एडभाइजरीलाई लेभल–२ उल्लेख गरिएको छ । जसको अर्थ नेपाल यात्रा गर्दा सावधानी अपनाउनुपर्ने भन्ने हो । ‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ ।

विदेश मन्त्रालयले आफ्ना नागरिक कसैले नेपाल भ्रमण गर्ने निर्णय गरेको भए प्रदर्शन र भीडबाट बच्न पनि सुझाव दिएको छ । साथै, नेपालका निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र यात्रीलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालका सरकारी आवश्यकता पूरा गर्न पनि उक्त एडभाइजरीमा भनिएको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई एक्लै पदयात्रा वा आरोहणमा नजान पनि भएको छ । नेपालमा राजनीतिक प्रदर्शन भैरहेको भए पनि कुनै हिंसात्मक हुने सम्भावना छैन। हिंसात्मक प्रकृतिका प्रदर्शन भैरहेका छैनन्। तर पनि अमेरिकाले नेपालको सुरक्षा अवस्थामा प्रश्न उठाएको छ।