टिआरसीमा तीन शिर्ष नेताबीच छलफल, निरन्तर छलफल गर्ने सहमति

मूलखबर संवाददाता
काठमाडौं, ८ पुस

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा निरन्तर छलफल गरेर टुंगोमा पुग्न प्रमुख तीन राजनीतिक दलका प्रमुख तीन नेता सहमत भएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए ।

लेखकका अनुसार सोमबार शीर्ष तीन नेताले आ आफ्नो दलबाट दुई/दुई जना नेता लिएर छलफलमा भाग लिनेछन् । ‘शीर्ष तीन नेताले तोकेका तीन नेताले सहमतिका लागि निर्णय लिने गरी तोक्ने कि भन्ने विषयमा समेत छलफल भएको थियो । तर, अन्तिममा सामूहिक छलफल गरेरै निष्कर्षमा पुग्नु राम्रो हुन्छ भन्नेमा पुगियो र सोमबार सामूहिक छलफल गर्ने तय भएको छ’, उनलेे भने ।

समिति चार वटा विषयमा निष्कर्षमा पुग्न सकिरहेको छैन । गम्भीर मानव अधिकार उल्लघंनको परिभाषामा ‘स्वेच्छाचारी रुपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या’ लेख्ने कि ‘दोहोरो भिडन्तबाहेक गरिएको हत्या’ लेख्ने भन्ने निर्णयमा समिति अनिर्णित छ । मानव अधिकारको उल्लघंनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमतिका लागि प्रयास गर्ने र त्यस्तो हुन नसकेको खण्डमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि समिति निचोडमा पुगेको छैन ।