प्रचारमा पछि परेको प्रचण्डको ठहर, पुस १० मा विशेष सम्बोधनको तयारी

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारले गरेको कामलाई राम्ररी प्रचार गर्न नसकेको बताएका छन्।

प्रचण्डले आफ्नो तीनवटै कार्यकालमा महत्वपूर्ण काम गरेको दावी गर्दै त्यसको स्वामित्व लिन नसकेको बताए। शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री यस्तो बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री हुँदा रणनीतिक महत्वको काम गरे पनि विरोधीले त्यसलाई प्रचारमा ल्याउन बाधा गरेको आरोप लगाए । ‘हामीले आफूले गरेका विकास निर्माण तथा नीति निर्माणको जस लिन पाएका छैनौं,’ उनले भने, ‘विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौं।’

देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु आफ्नै पालामा भएको उनको दाबी छ । ‘माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरुले लिएका छन् ।’ उनले भने।।

उनले आफ्नो पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरेको स्मरण गराए । ‘विकासका ठूला ठूला आयोजनाहरु सञ्चालनमा आए, तर त्यसको जस लिन हामी चुकेका हौं ।’ उनले भने ।

आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनाएको उनले बताए ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार बुढानीलकण्ठमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अरू पार्टीहरूले नगरेका कामलाई पनि गरेँ भनेर प्रचार गर्दा माओवादीले गरेका कामलाई पनि प्रभावकारी रूपमा प्रचार गर्न नसकेको बताएका हुन्।

‘अरूले पिठोपनि राम्रोसँग कराएर बेच्दा राम्रो चामल पनि बेच्न नजान्ने भएको हो माओवादी,’ उनले भने।

उनले आफू पहिलो प्रधानमन्त्री बन्दा मध्यपहाडी लोकमार्ग निर्माण, ३० हजार जनाको ऋण मिनाहा, १ लाख भन्दा बढीको ब्याज मिनाहा गरेको बताए।

त्यस्तै दोस्रोपटक प्रधानमन्त्री बन्दा नेपाललाई लोडसेडिङमुक्त देश बनाएर उज्यालो नेपाल अभियानको थालनी गरेको बताए।

यसपालि तेस्रो पटक प्रधानमन्त्री हुँदा आगामी डेढ वर्षपछि सिंगो देशभित्र एउटा पनि विद्युत् नपुगेको घर नहुनेगरी काम गरेको बताए।

सुशासन सामाजिक न्याय र समृद्धिको नयाँ अभियान चलाइएको र त्यसअन्तर्गत मिटरब्याजीहरूविरूद्ध आयोग र ऐन बनाए कारबाही गरी लाखौं किसानहरूलाई मिटरब्याजबाट मुक्त गरिएको प्रधानमन्त्री प्रचण्डले बताए।

‘यति ठूलो काम पनि राम्रोसँग बिक्री गर्न सकेनौं, अरूले नगरेको कामपनि गरेजसरी प्रचार गर्छन्। हामीले गरेको पनि गरेको भन्न सकेनौं,’ उनले भने।

नागरिकताको समस्या समाधानदेखि भारतलाई १० हजार मेघावाट विद्युत् बेच्ने सम्झौता, १० हजार ८०० मेघावाटको कर्णाली-चिसापानी परियोजना, बुढिगण्डकी जलविद्युत् आयोजना पुनः सुरू, उत्तरका नाका खोल्ने लगायतका थुप्रै कामहरू भएको उनको भनाइ छ।

यसपालि जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय रूपमा पनि आफू नेतृत्वको सरकारले नेपाली जनताको पक्षमा ठूलो लडाइँ लडेको प्रधानमन्त्री प्रचण्डले बताए।

२५ वर्षदेखि लावारिस भएर बसेको पञ्चेश्वर आफ्नै नेतृत्वको सरकारले टुंगो लगाएको उनल बताए। ‘ऐतिहासिक काम भएका छन्। जुन अहिलेसम्म कसैले गर्न सकेको थिएन,’ उनले भने।

तीन दिनपछि आफ्नो सरकारको एक वर्ष पूरा हुँदै गर्दा नयाँ ढंगले काम थालनी गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए।

पुस १० मा विशेष सम्बोधन
प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने बताएका छन् । प्रचण्ड गत वर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । आगामी मंगलबार उनी प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताका नाममा सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।

‘यो सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा म जनताको नाममा सम्बोधन गर्दैछु,’ शनिबार माओवादी केन्द्रले गरेको एक कार्यक्रममा उनले भने, ‘सरकारले अहिलेसम्म के गर्‍यो ? के भयो ? के भएन ? मैले नयाँ ढ‌गले जान्छु भनेको छु, त्यो नयाँ ढंगले जाने भनेको के हो भनेर म विशेष सम्बोधन गर्दैछु ।’

मन्त्रीहरुको त्रैमासिक समीक्षामा असन्तुष्टि जनाएका प्रधानमन्त्री प्रचण्डले यसअघि मन्त्रिपरिषद् बैठकमा पनि नयाँ ढंगले जाने भन्दै प्रस्तुत भएका थिए । नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले एक वर्ष पूरा भएपछि मन्त्रीहरु हेरफेर गर्न चाहेका छन् भने सरकारबाहिर रहेका अन्य दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।