एक वर्षे कार्यकाल सकिँदा प्रचण्डको नयाँ हुटहुटी, चाहन्छन् टिम र कार्यशैली परिवर्तन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षे कार्यकाल पूरा गर्न लागेका छन्। प्रचण्ड प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पुग्दैछ। त्यस दिन राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ कार्यक्रम घोषणा गर्ने तयारी उनले थालेका छन्।
नयाँ मन्त्रीहरुको साथ लिएर प्रचण्ड अबको एक वर्ष सरकारको गति बढाएर नतिजामुखी काम गर्न चाहन्छन्।
गत वर्ष पुस १० मा प्रधानमन्त्री भएका प्रचण्डले एक वर्ष कार्यकाल पूरा गरेपछि नयाँ हुटहुटी देखाएका छन्। उनी कार्यशैली र टिम परिवर्तन गरेर काम गर्न चाहन्छन्।
प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको जानकारी दिएका छन्।
विराटनगर विमानस्थलमा आजसाँझ संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो । अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ ।’
प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय, विकास निर्माणमा आफू सफल भएको बताए। उनले भने, ‘मिडियामा पनि पुरै नबुझि लेखिदिनुहुन्छ कि के गर्नुहुन्छ थाहा भएन । तर, सरकारले सामाजिक न्याय, मिटरब्याज पीडित, नागरिकता समस्या हल भयो । भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो ? भु–माफियाको विरुद्ध कदम चालिएको छ । अन्तराष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ ।’
किन चाहन्छन् प्रचण्ड टिम परिवर्तन
हालै सिंहदरबारमा आयोजित मन्त्रालयको समीक्षा बैठकमा प्रचण्डले मन्त्रीहरुबाट प्रभावकारी काम नभएकोमा गुनासो मात्रै गरेनन्, नयाँ ढंगले जानुपर्ने पनि बताएका थिए।
तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि यसपटक सरकारको नेतृत्व एक वर्ष पु¥याउन सफल प्रचण्डले जनताले देख्ने गरी काम गर्ने सोचेका थिए। तर, चौमासिक बैठकमा मन्त्रालयगत रुपमा पेश भएको रिपोर्ट र विवरण प्रस्तुति सुनेपछि उनी छक्क परे, निराश भए।
मंसिर २८ को उक्त समीक्षा बैठकमा संघीय सरकारमातहतका २१ वटा मन्त्रालयबाट चालु आर्थिक वर्षको तीन महिनाको प्रगति विवरण प्रस्तुत गरिएको थियो। जसमा सबै मन्त्रालयको काम राम्रो थिएन। ११ वटा मन्त्रालयको नतिजा निकै खराब देखिएको छ।
बाँकी ११ मन्त्रालयको नतिजा पनि आशा जगाउने देखिएको छैन।
खानेपानी, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, महिला बालबालिका, कानुन, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि र युवा तथा खेलकुद मन्त्रालयले ‘सी प्लस ग्रेड’ पाए। युवा तथा खेलकुद मन्त्रालयले केवल २९.५० नम्बर पायो।
श्रम मन्त्रालयले ‘बी ग्रेड’ सहित ५१.५० अंक पाएको छ। त्यसपछि परराष्ट्र, भूमि व्यवस्था, अर्थ, गृह, रक्षा, सञ्चार, संघीय मामिला, शिक्षा, वन र ऊर्जा मन्त्रालयले ४० अंक भन्दाबढी नम्बर पाएका छन्।
त्यसबाहेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रिपोर्ट कार्डअनुसार पहिलो त्रैमासिकमा सात सय ७५ लक्ष्य भेट्टाउनुपर्नेमा २७८ वटामात्रैमा मन्त्रालयहरु पुग्न सफल भएका छन्।
जसमा पूर्वाधारतर्फ ३६, शासकीय सुधारतर्फ ७० र सामाजिकतर्फ १०३ लक्ष्यमात्रै पूरा भएको देखिन्छ।
जबकि, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा तीन हजार चार सय २१ वटा विषयगत र योजनागत लक्ष्य निर्धारण भएका थिए।
कूल विनियोजन बजेटमध्ये असोजसम्म १६.२ प्रतिशत मात्रै खर्च भएको छ।
पूँजीगततर्फको खर्च १२ प्रतिशतमा सीमित छ। गठबन्धन सरकारका लागि यो निराशाजनक अवस्था हो।
मन्त्रीहरुको कार्यसम्पादन र कर्मचारी परिचालनमा पनि कमजोरी भएकै कारण परिणाममुखी काम नभएको उनको विश्लेषण छ। प्रधानमन्त्रीनिकट स्रोतहरुका अनुसार त्यही बैठकपछि प्रचण्डले कार्यसम्पादन कमजोर रहेका मन्त्रीलाई बिदा दिने प्रयास थालेका हुन्।
त्यसका लागि सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल (जसपा) लगायतसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन्।
मन्त्रीहरूको रिपोर्ट कार्ड कमजोर देखिएपछि प्रधानमन्त्री प्रचण्डले क्याबिनेटमा फेरबदलको गृहकार्य झन् तीब्र बनाएका हुन्। उनी नतिजा दिननसक्ने मन्त्रीहरूलाई तत्काल विदा गर्न चाहन्छन्।
कार्यशैली परिवर्तनका लागि प्रतिवद्ध
विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा प्रधानमन्त्री प्रचण्डले मन्त्री र सिचवलाई कार्यशैली फेर्न निर्देशन नै दिए।
आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दै गरेको बताउँदै उनले अर्को वर्ष नयाँ ढंगले जाने स्पष्ट पारे। प्रधानमन्त्रीले भने, ‘त्यसका लागि हाम्रो सोच बदलौँ, कार्यशैली पनि बदलौँ। म गम्भीर ढंगले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु। मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईंहरू के गर्नुहुन्छ ? देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्नुस्। हामीले राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेका पर्दाफास हुन्छन्। त्यसरी काम गरौँ।’