घुमिफिरी एमालेको उही निष्कर्षः संकल्प यात्राको हिरो ओली, क्रेज कायमै
नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ ।
पार्टी मुख्यालय ललितपुरमा बुधबार भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । “अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ”, उनले भने, “जनताको विकासप्रतिको अपेक्षा र चाहनाअलाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गरेको बैठकको निष्कर्ष छ ।”
एमालेको उही निष्कर्षः ओली क्रेज कायमै
च्यासलमा सचिवालयका नेताहरूले सामान्य समीक्षा गरेर नेताहरूले साझा निष्कर्ष निकाले– एमालेप्रतिको जनविश्वास घटेको छैन, अध्यक्ष केपी शर्मा ओलीप्रतिको क्रेज बढेको छ ।
अध्यक्ष ओलीले सम्बोधन गर्नु र अरू पदाधिकारीसँगसँगै हिँड्नुले पार्टी नेतृत्व एक ढिक्का भएको सन्देश गएको नेताहरू बताउँछन् ।
उनीहरूको भनाइ छ– नेतृत्व एक ढिक्का छ । एकमना, एकता छ भन्ने सन्देश जनतालाई दियौँ ।
यात्राका क्रममा सभाहरूमा देखिएको उपस्थितिले पार्टीप्रतिको विश्वास नघटेको निष्कर्षमा नेताहरू पुगेका छन् । त्यस्तै पुराना दलहरूप्रति विकर्षण छ भन्ने हल्ला निधार सावित भएको बुझाइ एमाले नेताहरूको छ ।
“पुराना दलहरूप्रति आकर्षण कम भएको छ भन्ने चिरिएको छ । हाम्रो पार्टीप्रति आकर्षण बढेको छ,” उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भन्छन् ।
त्यस्तै, उपाध्यक्ष सुरेन्द्र पाण्डेको विश्लेषण पनि पार्टीप्रति आकर्षण बढेको भन्ने नै छ । पार्टी अध्यक्षप्रतिको विश्वास र भरोसा पनि देखिएको उनी बताउँछन् ।
“समग्रतामा यात्रा राम्रो भयो । एमाले, नेतृत्व, अध्यक्षप्रतिको विश्वास, भरोसा देखियो । अपवादबाहेक कार्यक्रमहरू राम्रा भए,” उनी भन्छन् ।
दलहरूमाथि विश्वास छैन भन्ने गाली निराधार रहेको पाण्डेको भनाइ छ ।
“दलहरूमाथिको विश्वास छैन भनेर गाली गरेको जस्तो देखिएन । मानिसहरूमा विश्वास र आकर्षण छ । यसलाई कसरी सुदृढ र खदिँलो बनाउने भन्नेमा ध्यान दिनुपर्छ,” उनले बैठकमा भनेका छन् ।