माओवादी केन्द्रको बैठकः रूपान्तरण अभियानको समीक्षासहित यी हुन् एजेण्डा
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठकमा माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ ।
“बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ,” ढकालले मूलखबरसँग भने ।
माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।
माओवादीका सचिव गणेश साहले उनले बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताए । भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।
आगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ मा निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ पदमा निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गरेर जाने सहमति भएको छ ।
माओवादीले मंसिरमा अभियान सक्ने र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, पुस १६ गतेसम्म नै अभियान चलाउने निर्णयपछि सम्मेलनको मिति तय भइसकेको छैन । फागुनभित्रै सम्मेलन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।