प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दनको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ ।
राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित सोमबार बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो ।
प्रधानमन्त्री दाहाललाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवादउन्मुख लोकतन्त्र र संघीयतालाई व्यावहारिक रूपमा लागु गरेको, नेपाल सम्वतलाई सरकारी दस्तावेजमा उल्लेख गर्न र वाग्मती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गरेकाले नागरिक अभिनन्दन गर्न लागेको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिए ।
निमन्त्रणापत्र बुझ्दै प्रधानमन्त्री दाहालले संस्कृतिमा धनी काठमाडौं उपत्यका आदिवासी ज्यापू जातिको संस्कृति, सङ्गीत बाजाजागा, रीतिरिवाज, रहनसहनलगायत सामाजिक, सांस्कृतिक उत्थानको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘‘नेपाल सम्वतलाई सरकारी दस्तावेजमा उल्लेख गर्ने र वाग्मती प्रदेशमा नेपाल भाषालाई सरकारी मान्यता दिनु संघीय लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठूलो उपलब्ध हो,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सङ्घीयता, लोकतन्त्र र गणतन्त्रप्रति बेला एकथरीले अनावश्यक रूपमा प्रहार गर्ने दुस्साहस गरेको बेला काठमाडौंका नेवार समुदायले सरकारले गरेका निर्णयलाई स्वागत गरेर अभिनन्दन गर्ने निर्णय गरेकोमा धन्यवाद दिन चाहन्छु ।’’
उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अक्षयकोषको लागि प्रदान गरेको १० करोड रुपैयाँ निकासा गर्ने बताउँदै नेपाली जनताले सरकारले गरेका राम्रा काममा समर्थन गरिरहेको बताए ।