झुलाघाट टू चिवाभञ्ज्याङ, ओलीको एकल प्रस्तुति र निष्कर्ष

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (एमाले)ले आफ्नो मध्यपहाडी लोकमार्गकेन्द्रित १८ दिने यात्रा समापन गरेको छ । गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिएको हो ।

अभियानको सुरुआत र समापन पार्टी अध्यक्ष केपी शर्माले राष्ट्रिय झन्डा फहराएर गरे । ‘समृद्धिका लागि संकल्पयात्रा’ नारा दिइएको अभियान शतप्रतिशत सफल भएको एमालेको निष्कर्ष छ । आइतबार चिवाभञ्ज्याङमा अभियानको समापन गर्ने क्रममा अध्यक्ष ओलीले यात्रा सफल भएको बताए ।

अरूले गर्न नसकेको काम एमालेले गर्न सक्छ भन्ने दृष्टान्त दिइएको उनले सुनाए । “नेकपा (एमाले) अरूले सोच्न नसकेका काम गर्न सक्छ भन्ने खालको अर्को दृष्टान्त हो । यो महान् यात्रा पूर्ण रूपमा शतप्रतिशत सफल भएको छ । यस सफलातको श्रेय सम्पूर्ण साथीहरूलाई जान्छ,” ओलीले भने ।

ओलीको एकल प्रस्तुति र निष्कर्ष
एमालेको १८ दिने अभियानमा ओलीले एक्लै भाषण गरे । अभियान ओलीको ‘एकल शो’ जस्तो नै देखियो । संकल्प यात्रामा पार्टीका पदाधिकारी र अन्य कमिटीका गरी १५० बढी केन्द्रीय नेताको लर्को थियो तर अभियानको केन्द्रबिन्दुमा पार्टी अध्यक्ष ओली नै थिए।

सभामा पार्टीका अध्यक्ष ओली मात्रै प्रस्तुत भए । अधिकांश सभामा ओलीले एकल रुपमा प्रस्तुति दिएका थिए । पहिलेका पार्टीका काममा सीमित नेताहरुलाई सीमित ठाउँको जिम्मेवारी दिइएको भन्दै पार्टीका पदाधिकारी एक साथ अभियानमा रहेका भए पनि ओलीले एक्लै प्रस्तुति दिएको भन्दै आलोचना पनि गरिएको छ ।

नेताहरूले भने ओलीको जयजयकारलाई पार्टी एकताको रूपमा अर्थ्याएका छन्। चिवाभञ्ज्याङमा सञ्चारकर्मीसँग एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्षले मात्र भाषण गर्दा पार्टी एक ढिक्का रहेको सन्देश दिएको बताए । “हाल १७ जनाको पदाधिकारी टिम छौँ । अध्यक्षको नेतृत्वमा हामी पदाधिकारीसँगै भयौँ । यसले एमाले एक ढिक्का छ भन्ने सन्देश दिएको छ,” गुरुङले भने ।

भूगोलको रक्षा गर्ने पार्टी एमाले हो भन्ने सन्देश यात्राले दिएको उनको भनाइ छ । गुरुङले एमालेले देश विकासको नक्सा फेर्न चाहेको सन्देश दिएको पनि बताए ।

“एमाले देशको समृद्धि चाहन्छ, विकासको नक्सा फेर्न चाहन्छ भन्ने सन्देश गएको छ,” उनले भने, “दलहरू चुनावका बेलामा मात्रै गाउँगाउँ आउँछन् भन्ने थियो, चुनाव सकिएपछि वास्ता हुुँदैन भन्ने थियो । हामी अहिले नै यात्रामा गयौँ ।”

श्रेय सबैलाई-‌ओली

यो महान् यात्रा पूर्ण रूपमा शतप्रतिशत सफल भएको छ । यस सफलातको श्रेय सम्पूर्ण साथीहरूलाई जान्छ,” ओलीले भने ।

देशको राजनीति अलपत्र अवस्थामा छाड्न नहुने आफूहरूको निष्कर्ष रहेको उनले बताए । “सबैको निष्कर्ष के हो भने अब देशको राजनीति यसैगरी अलपत्र अवस्थाजस्तो गरेर चल्नु हुँदैन,” उनले भने, “अब देशको राजनीतिले सही निकास लिनुपर्छ । अलमलमा राष्ट्रको समय खेर फाल्नु हुँदैन ।”

ओलीले संकल्पयात्राबाट देशलाई जोगाउन ‘असाधारण’ योगदान दिइएको जिकिर पनि गरे । “यहाँ राष्ट्रको समय खेर गइरहेको छ, जनताको एउटा पिँढीको अवधि खेर गइरहेको छ । आउँदो पिँढीको भविष्य अप्ठ्यारोतर्फ धकेलिँदै छ,” ओलीले भने, “यस्तो स्थितिबाट देशलाई जोगाउनका लागि संकल्पयात्राले असाधारण योगदान गरेको छ ।”