कांग्रेस इतर समूहको भेलाः गगन र शेखरको दुरी घटेकै हो त !

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसमा संस्थापन इतर समूह भनेर चिनिँदै आएको समूहमा फेरि एकता कायम भएको संकेत देखिएको छ। नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले काठमाडौंको बत्तिसपुतलीमा बुधबार बैठक गरे।

करिब एक वर्षपछि कोइराला-थापा पक्षले ‘गुट बैठक’ गरेपछि उनीहरूबीचको सम्बन्धमा पैदा भएको दरार समाधान भएको र पुनरमिलनको संकेत पनि देखिएको छ।

बैठकमा नेता गुरूराज घिमिरेले आन्तरिक गुट व्यवस्थापनलगायत कुरा राखेका थिए।

‘गिरिजाबाबु, सुशीलदाका बेलामा पनि गुटभित्र असमझदारी देखा पर्दथे तर व्यवस्थापन गरी उहाँहरू अघि बढ्नुहुन्थ्यो,’ उनले भने, ‘व्यवस्थापन गर्ने कि यसभित्र खेल्ने सुविधा दिइरहने?’

नेता भूपेन्द्रजंग शाहीले पार्टी र समूहभित्रबाट पनि न्यायोचित व्यवहार हुनुपर्ने बताए।

‘अवसर आएका बेला कुनै नेताले खल्तीबाट नाम दिने होइन, समूहमा छलफल गरेर निर्णय गरिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सभा चुनाव आउँदैछ, पार्टी र समूहभित्र पनि न्यायोचित व्यवहार होस्।’

उनले नेताहरू मिलेर जानुको विकल्प नरहेको बताए।

नेता जगदीश्वरनरसिंह केसीले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा पठाउन पहल गर्नुपर्ने र त्यसका लागि मापदण्ड तय गर्न सुझाव दिए।

‘पटक-पटक अवसर पाएकालाई नै फेरि पार्टीले राष्ट्रिय सभामा लैजाने हो भने यो समूहले हाम्रो उपस्थिति नहुन पनि सक्छ भनेर सभापतिलाई प्रष्ट भन्न सक्नुपर्छ,’ उनले भने, ‘दु:ख पाएकाहरू र संविधानको मर्मलाई बुझ्न सक्नेलाई राष्ट्रिय सभामा लैजानुपर्छ, मन्त्री भइसकेकाहरूलाई अवसर दिन हुन्न।’

केसीले नेता कोइराला र थापाबीच असहमति देखिएका खबरले कार्यकर्तापङ्ति निराश देखिएको कुरा पनि बैठकमा राखेका थिए। ‘कोइराला र थापाको उपस्थितिमा हामी एक छौं, १५ औं महाधिवेशनसम्म एक नै भएर जान्छौं भनेर तपाईंहरूले दह्रोसँग कुरा राख्नुपर्छ,’ केसीले भने, ‘कार्यकर्तापङ्तिमा नकरात्मक सन्देश गइरहेको छ।’

उपसभापति धनराज गुरूङले पनि पार्टीले राष्ट्रिय सभामा नयाँलाई अवसर दिनुपर्ने बताए।

‘पटक-पटक अवसर पाएकालाई भन्दा कहिल्यै अवसर नपाएकालाई राष्ट्रिय सभामा लैजानुपर्छ,’ उनले भने। उनले गुटभित्रका विवादभन्दा पनि महासमिति बैठकलगायत विषयबारे छलफल गर्न कुराकानी गरेको बताएका थिए।

एकढिक्का रहेको सन्देश
बुधबारको बैठकपछि संस्थापनइतर पक्षले आफूहरु एकढिक्का भएको सन्देश दिएको छ । यसअघि नेता शेखर र गगनबीच चिसिएको भनिएको सम्बन्धलाई अहिलेको बैठकले तताएको छ । र, समूहका अन्य नेताहरुले पनि एजेण्डामा आफूहरु एकजुट रहेको बताएका छन् ।

बैठकपछि नेता कोइरालाले नै आफ्नो समूह ठीक ढंगले चलेको दाबी गरेका छन् । उनले महामन्त्री थापासँग पनि कुनै फरक मत नभएको प्रस्ट पारे । बैठकपछि महामन्त्री थापाले पनि आफूहरुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको बताए ।

सबैका कुरा सुनेपछि नेता शेखर कोइरालाले यो नियमित बैठक भएको प्रतिक्रिया दिएका थिए। ‘यो नियमित बैठक हो। पहिले पनि बैठक गरेको हो। केही महिनादेखि बैठक बसेको थिएन। मिडियाले लिएजस्तो चिन्तित भएर यो विषयलाई लिनुपर्ने आवश्कता म देख्दिनँ,’ उनले भने।

कोशीमा शेखरले एकलौटी रूपमा विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएपछि गगनसँग दूरी बढेको थियो । उनीहरुबीच बढेको दुरीलाई अहिलेको बैठक नजिक बनाएको छ ।

त्यस्तै बैठकले चुनावमा हारेका र समानुपातिक सूचीमा बसेकाहरूलाई राष्ट्रियसभामा लान नहुने निष्कर्ष पनि निकालेको छ।

गगन शेखर पक्षबाट पाँच विषयमा दबाब बढाउने सहमति देखिएको छः
१. राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छान्दा मापदण्ड बनाउनुपर्ने

२. महासमिति बैठक तोकिएको समयमै गर्नुपर्ने

३. समूहको बैठक कम्तीमा एक महिनामा बस्ने

४. १५ औं महाधिवेशनसम्म एकताबद्ध भई जाने, तल्लो तहसम्म एकताकै सन्देश दिने

५. भ्रष्टाचारविरूद्ध आवाज उठाउनुपर्ने, सुशासनमा सम्झौता गर्न नहुने

बैठकमा बोलेका अधिंकाश सदस्यहरूले आगामी राष्ट्रिय सभा निर्वाचनमा नयाँ उमेदवारलाई अवसर दिनुपर्ने धारणा राखेका छन् । राष्ट्रिय सभामा कृष्ण सिटौला, गोपालमान श्रेष्ठ जस्ता पुराना नेताहरूलाई उमेदवार बनाउन नहुने नेताहरूको तर्क छ ।

महामन्त्री थापाले नै यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरूलाई राष्ट्रिय सभा निर्वाचनमा उमेदवार बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । यसका लागि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय भएको उनले बताए ।

राष्ट्रिय सभा निर्वाचनमा एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल भएको उनको भनाइ छ । यस्तै, महासमिति बैठक सार्न नहुने निष्कर्षमा पनि बैठक पुगेको उनले बताए ।