एमालेकाे नेतृत्वमा सरकार अपरिहार्य – ओली
नेकपा (एमाले) सरकारविहिन भएको करिब एक वर्ष भएको छ । पञ्चायत अन्त्यपछि बहुदल र गणतन्त्र स्थापनापछिका लगभग सबै सरकारमा सहभागी र नेतृत्व गरेको एमालेले सरकार बाहिर बस्नुपर्दाकाे पीडा अहिले जारी झुलाघाट चिवाभञ्ज्याङ अभियानका क्रममा लगातार व्यक्त गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माण गर्न एमाले नेतृत्वकै सरकार अपरिहार्य भएको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधबार भोजपुर सदरमुकाममा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टीद्वारा आयोजित कार्यक्रममा गठबन्धन सरकारले आम जनतालाई दुःख र आर्थिक भार मात्र दिएको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले देशमा हाल राजनीतिक, सामाजिक, आर्थिक तथा जुनसुकै क्षेत्रमा अस्थिरता बढेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “एमालेसँग एक्लै लड्ने गठबन्धनका कुनै पनि पार्टीको आँट छैन, यो संकल्प यात्रासगैँ मिसन ८४ मा लाग्न म नेता कार्यकर्ताहरुलाई आव्हान गर्छु ।”
जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपुर्ण र भोजपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि सरकार निर्माणको क्रममा गठबन्धनले जालझेल गरेर अदालतको सहारामा सरकार ढालेको टिप्पणी गर्नुभयो । २०८४ निर्वाचनपछि एमालेको एकल सरकार निर्माण गर्नमा जनताले साथ दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीलाई एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जिल्लाको विकासका लागि गुरुयोजनाको प्रस्ताव हस्तान्तरण गर्दै बजेट ब्यवस्थापमा सहयोग गर्न आग्रह गर्नुभयो ।