शेयर बजारमा फर्किएको खुसीः यी हुन् शेयर बजार बढ्नुका २ कारण
मौद्रिक नीतिको समीक्षापछि शेयर बजारमा उछाल आएको छ । लामो समयपछि नेप्से परिसूचक आइतबार १११.२० अंक बढेर १९६३.९८ विन्दुमा बन्द भयो । आइतबार बजारमा तीनपटक सकारात्मक सर्किट लागेको थियो ।
कारोबार सुरु भएको पहिलो पाँच मिनेटमै बजार ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो । दोस्रोपटक बजार खुलेको दुई मिनेटमै ५ प्रतिशतले वृद्धि भएर ४० मिनेट र तेस्रोपटक बजार खुलेको २ मिनेटमा ६ प्रतिशतले बढेर कारोबार दिनभरिका लागि बन्द भएको थियो ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको समीक्षामार्फत ५० लाखभन्दा बढी सेयर धितोकर्जाको जोखिम भार १२५ प्रतिशत कायम गर्ने जानकारी दिएको थियो । राष्ट्र बैंकले योबाहेक सेयर बजारमा खासै केही परिवर्तन गरेको छैन । यत्तिकैमा लगानीकर्ता उत्साहित देखिएका छन्।
यी २ कारणले बढ्यो बजार
आइतबार बजारमा तीनपटक सकारात्मक सर्किट लागेपछि बजार १२ बजेर ९ मिनेट जाँदा नै दिनभरिका लागि बन्द भयो । ११ बजेर ५ मिनेट जाँदा ४ प्रतिशत वृद्धि भएको बजार ११ बजेर २५ मिनेटसम्म बन्द भयो । ११ बजेर २५ मिनेटमा खुलेको बजार ११ बजेर २७ मिनेट जाँदा थप एक प्रतिशत विन्दुले बजार बढेर ४० मिनेट बन्द भएको थियो ।
त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार १२ बजेर ९ मिनेट जाँदा नै थप एक प्रतिशत विन्दु (कुल ६ प्रतिशत) ले वृद्धि भएर दिनभरका लागि नै बजार बन्द भएको थियो ।
आइतबार कुल तीनपटक सर्किट ब्रेक लागेपछि ९ मिनेट मात्र सेयर कारोबार भयो । ९ मिनेटमा ४८ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भयो ।
आइतबार बजार बढ्नुमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा र ब्याजदरलाई लिइएको छ । आज दुईवटा बैंकले पुसको ब्याजदर सार्वजनिक गरेकाले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
बजार घटेको समयमा आम लगानीकर्ताले ध्यान दिँदैनन् । तर, बजार बढ्न थालेपछि लगानीकर्ता र कारोबार सक्रिय हुन्छ । त्यसले गर्दा पनि बजार बढ्न थाले पनि केही समयसम्म टिकिरहने बजारका जानकार बताउँछन् ।
बजार बढ्दा जताततै सकारात्मक मात्र सञ्चार हुने हुँदा पनि त्यसको प्रभाव आम लगानीकर्ता र कारोबारीमा पर्ने गरेको विज्ञहरू बताउँछन् ।
के हो सर्किट ब्रेकको प्रणाली
सर्किट ब्रेकको व्यवस्था २०६४ सालपछि गरिएको हो । यसअघि भने बजार जति पनि बढ्न सक्ने व्यवस्था थियो । तर, २०६४ पछि पहिलो घण्टा ११ बजेदेखि १२ बजेभित्र बजार ४ प्रतिशत वृद्धि भयो वा घट्यो भने २० मिनेटका लागि बजार बन्द हुन्छ ।
त्यस्तै, दोस्रो घण्टा १२ बजेदेखि १ बजेभित्र बजार थप एक प्रतिशत विन्दु (कुल ५ प्रतिशत) बढ्यो वा घट्यो भने बजार ४० मिनेटका लागि बन्द हुन्छ ।
त्यस्तै, १ बजेपछिको करोबरामा थप एक प्रतिशत विन्दु (कुल ६ प्रतिशत) बजार बढेमा वा घटेमा दिनभरका लागि नै बजार बन्द हुन्छ ।