अर्थतन्त्रबारे प्रधानमन्त्रीको गम्भीर पहल, गोलमेचअघि सर्वपक्षीय परामर्शमा प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

देशको आर्थिक अवस्था नसुर्धेपछि तनावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संकटबाट पार पाउन निरन्तर छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका छन् ।

बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे ब्रिफिङ गरेका थिए। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र योजना आयोगका प्रतिनिधिले पनि धारणा राखेका थिए।

‘समग्रमा अर्थतन्त्रले लय समातिरहेको छ। विप्रेषण, पर्यटक आगमन र शोधनान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौं’, मन्त्री महतले भने, ‘कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भयो। जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पुँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ। लक्ष्यअनुसार हामीले उपलब्धि हासिल गरिरहेका छौं।’

बैठकमा रोजगारीका अवसर वृद्धि गर्ने विषयमा पनि छलफल भएको महतले बताए। सहकारी र लघुवित्तको नियमन अभावले समस्या आएको विषयमा पनि बैठकमा छलफल भएको थियो। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्छ तर त्यसलाई कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकको भूमिकाबारे पनि छलफल भएको महतले बताए।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो।

बाह्य आर्थिक सूचाकांकहरू सकरात्मक देखिए पनि आन्तरिक सूचाकांक नकरात्मक छन् । मुख्य समस्या उत्पादनमा कमी, लगानीकर्ता र उपभोक्ताको मनोविज्ञानमा देखिएको कमजोर आत्मविश्वासले अर्थतन्त्र चलायमान हुन सकेको छैन । निजीक्षेत्र र उपभोक्ताको मनोबल बढाउने गरी सरकारले आवश्यक कदम चाल्नुपर्ने अवस्था छ ।

प्रधानमन्त्रीले आर्थिक संकटबारे दलहरूसँग पनि छलफल गर्ने यसअघि नै बताएका थिए । त्यसअघि उनले क्षेत्रगत रुपमा छलफल गरी आवश्यक रणनीति बनाउन लागेका हुन् । उनले आज निजीक्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उद्योगी, व्यवसायीहरूको चिन्ताको विषयमा प्रधानमन्त्रीले उनीहरूलाई आस्वस्त पार्ने प्रयास गर्नेछन् ।

क्षेत्रगत छलफलपछि प्रधानमन्त्रीले सत्ता साझेदार दल र विपक्षी दलहरूसँग पनि छलफल गर्नेछन् । प्रधानमन्त्रीले ६ गते सर्वदलीय प्रतिनिधि र विज्ञहरु राखेर गोलमेच छलफल गर्ने तयारी गरेका छन्।

६ गतेको छलफलपछि अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आयोग बनाउने तयारी भैरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बतायो। प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार आयोग गठनको तयारीस्वरुप नै प्रधानमन्त्रीले छलफल अघि बढाएका हुन्।