प्रचण्ड-ओली दुई घण्टे संवादको संकेत, दुई नेताबीच फेरि पनि सहकार्यको सम्भावना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच शुक्रबार लामो संवाद भयो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार शुक्रबार सिंहदरबारमा दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भएको हो।
भ्रमणमा मुख्यतः तीन विषय थिए तर त्यसवाहेक राजनीतिक रूपमा सहकार्यको भविष्यबारे पनि नेताहरूबीच मन्थन भएको बुझिएको छ। प्रचण्डले मूलरूपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको १२ गतेदेखि हुने नेपाल भ्रमण, नेपालको पछिल्लो राजनीतिक अवस्था र संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा लग्ने विषयमा ओलीसँग सहमति खोजेका थिए।
प्रचण्डका प्रेस सल्लाहकार आचार्यले गुटरेसको नेपाल भ्रमणका विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिएको उनले बताए। त्यस्तै, कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका विषयमा पनि उनीहरूबी छलफल भएको छ।
अमिर शेख आगामी कात्तिक २० गते नेपाल आउने तयारीमा छन्।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पछिल्लो राजनीतिक अवस्थाका विषयमा सबै दल मिलेर जाने विषयमै समझदारी जुटाउन छलफल भएको बताए।
‘राजनीतिक अवस्था, अहिलेको सिस्टम, गणतन्त्र, संघीयतालाई सबै दल मिलेर प्रभावकारी कार्यान्वयन गराउन आवश्यक छ, यसमा एउटा महत्वपूर्ण समझदारी बनाएर जाने विषयमा सम्माननीय प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग संवाद गर्नुभएको हो,’ मल्लले मूल खबरसँग भने, ‘संविधान र सिष्टमलाई बलियो बनाउन यो व्यवस्था ल्याउने शक्ति एकै ठाउँमा उभिनैपर्छ।’
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) संसद्बाट छिटो पारित गर्ने विषयमा पनि छलफल भएको छ।
छलफलमा बेपत्ता नागरिक खोजबीनको लागि सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संसद्मा अघि बढाउन सकारात्मक रहेको ओलीको भनाई छ।
टीआरसीलाई दसैँ लगत्तै बस्ने संसद् बैठकमा पेस गर्ने तयारी छ।
भित्री कुरा भविष्यमा सहकार्यको सम्भावना
दुई नेताका निकटहरुले पनि अन्य विषयहरु पनि कुराकानीका क्रममा आए पनि शान्ति प्रक्रियालाई पूर्णता दिने र राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणका विषयमा नै भेट केन्द्रित भएको बताएका छन्। कोसीमा कांग्रेसका आठ सांसदको विद्रोहलाई प्रोत्साहित गर्दै मत दिएपछि प्रचण्ड कांग्रेससँग सशंकित छन् । उनले रुकुम–पश्चिमको भाषणमा बिहीबार सत्ता गठबन्धन पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्ड पुस १० मा बालुवाटारबाट बालकोट पुग्दै एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर, पुस २६ मा विश्वासको मत लिँदा कांग्रेसलाई पनि साथ लिए । उनले राष्ट्रपति निर्वाचनमा धारै परिवर्तन कांग्रेससहित गठबनधन गरेर अघि बढेका थिए।
ओलीले प्रचण्डसँग दीर्घकालीन सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेको एक प्रचण्ड निकट नेताले बताए। प्रचण्डले पहिले शान्ति प्रक्रिया र हालका मुद्दामा एकमत बनाउँदै गए दुई दलबीच भविष्यमा सहकार्यको सम्भावना जीवित रहेको र आफू त्यसका लागि खुला रहेको प्रष्ट संकेत ओलीलाई दिएका थिए।
२०१९ सालदेखि विभाजन सुरु भएको कम्युनिस्ट आन्दोलनका दुई भँगालाजस्ता धारबीच २०७४ सालमा एकता हुँदा धेरैले वामपन्थी आन्दाेलन एकताबद्ध भएकाे ठानेका थिए । बालुवाटारमा बमले समेत मार्न नसक्ने भनिएकाे जिन्काे बिरुवा राेप्दै अध्यक्षद्वय ओली र प्रचण्डले त्यस्तै प्रतिबद्धता जनाएका थिए । तर, त्याे एकताकाे एकताको आयु धेरै लामाे भएन । तीन वर्षमै विभाजन भई वामशक्ति तितरबितर हुन पुग्याे । तर दुबैतिर बाम एकतको पक्षमा भित्री दबाब निरन्तर रहँदै आएको छ।