गाजामा मनलाग्दी आक्रमणप्रति चीनको आपत्ति

मूलखबर संवाददाता
काठमाडौं

चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।

इजरायलले गाजामा हमास लडाकूहरूमाथि जमिन आक्रमण गर्ने तयारी गरेको देखिएका बेला विदेशमन्त्री वाङले शनिवार साउदी अरेबियाका आफ्ना समकक्षी राजकुमार फैजल बिन फरहानलाई फोन गरेर उक्त टिप्पणी गरेका हुन् ।

‘इजरायलको कदम आत्मरक्षाका दायराभन्दाा बाहिर गएका छन्,’ वाङलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामुहिक सजाय बन्द गर्नुपर्छ ।’ वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।

उत्तरी गाजामा रहेको १० लाखभन्दा बढी सर्वसाधारणलाई अपेक्षित आक्रमण हुनुभन्दा अगाडि नै भाग्न आदेश दिइएको छ । सर्वसाधारणको बाध्यकारी बहिर्गमनले मानवीय सङ्कट निम्तिने भन्दै सहायताकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।