प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नु हुँदैन : माधव नेपाल
चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार परिवर्तनको कुनै सम्भावमा नरहेको बताएका छन् ।
समाजवादी जागरण अभियानअन्तर्गत आज चितवनमा आयोजना गरिएको कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको कुनै विकल्प नभएको बताएका हुन् । प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको यही सरकार चल्नुपर्ने यही सरकारलाई सफल बनाउने बताए ।
उनले भने, ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ ।’ जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने उनको भनाइ थियो ।
नेता नेपालले प्रतिगमनकारीहरुले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको भन्दै सरकारलाई जोगाउनुपर्ने बताए । उनले भने, ‘अहिले पनि पुरानो व्यवस्था फर्काउने खतरनाक योजना बनाइरहेका छन् । धर्मको नाममा अनेक खालका कुरा आइरहेका छन् । त्यसबारे सबै होसियार हुनुपर्छ । यो सरकारलाई हामीले जोगाउनुपर्नेछ ।’
उनले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै गलत काम गरेको बेलामा औंला ठड्याउनेसमेत बताए। ‘सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ,’ उनले भने, ‘…अहिलेकै नेतृत्वबाट देश बनाउन सकिन्छ भन्ने आँट र साहस राखेर अघि बढ्नुपर्छ ।’
जनताका आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निरासालाई चिर्नुपर्ने बताए ।
देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा बनाएको र वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेको भन्दै उनले लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई पनि समेटेर अगाडि बढ्ने बताए ।