प्रचण्डको चीन भ्रमण आजदेखि, राष्ट्रपति सीसँग आजै भेट, यस्तो छ तालिका र एजेण्डा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट सुरु हुँदै छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन गएका छन् ।
प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् । एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।
यस्तो छ तालिका
शनिबार
– बिहान १०.१० मा हान्जाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।
– नेपाली राजदूत र चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीको स्वागत ।
– विमानस्थलमै प्रधानमन्त्रीलाई गार्ड अफ अनर । त्यसपछि टोली होटल प्रस्थान ।
– ११.५० मा राष्ट्रपति सी चिनफिङले दिएको स्वागत समारोहमा सहभागी।
– ४.४० मा उच्चस्तरीय द्वीपक्षीय बैठक सुरु।
– संयुक्त बैठकपछि ५ बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग औपचारिक भेटवार्ता । भेटवार्ताका लागि आधा घण्टाको समय निर्धारण ।
– केहीबेर आराम गरेर बेलुका ७.२० मा प्रधानमन्त्री प्रचण्ड १९ औं एसियाली खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रस्थान ।
– स्टेडियमबाट राति १० बजे हुजिसान रिसोर्ट प्रस्थान ।
आइतबार
– प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ ।
– ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट स्टेट गेष्ट हाउसमा प्रस्थान ।
– अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले त्यहाँ सम्बोधन गर्नेछन् ।
– पौने ६ बजे नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।
सोमबार
– ९ बजे ग्रेटहल प्रस्थान । ग्रेटहलमा ९.४५ देखि आधा घण्टा चिनियाँ जनकांग्रेसका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता ।
– १०.४५ मा प्रधानमन्त्री त्यानआनमेन स्क्वायरमा हुने स्वागत समारोहमा सहभागी हुनेछन् । त्यहाँ उनलाई गार्ड अफ अनर दिइनेछ ।
– १०.५५ मा चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता हुनेछ । भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही सहमति सम्झौतामा हस्ताक्षर हुनेछ ।
– १२ बजे प्रधानमन्त्रीले दिएको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।
– १ बजे हुवाइ बेइजिङ ग्रुपमा नेपाली टोली पुग्नेछ ।
– प्रधानमन्त्रीले साढे ५ बजे चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई अन्तरवार्ता दिनेछन् ।
– ६ बजे दा दोङ बेइजिङ डक रेस्टुरेन्टमा पुगेर उनले बेलुकाको खाना खानेछन् ।
मंगलबार
प्रधानमन्त्री प्रचण्डले बिहान ७ बजे माओको शव राखिएको स्थानमा पुगेर दर्शन गर्नेछन् ।
८ बजे बेइजिङबाट चोनकिङ प्रस्थान गर्नेछन् । त्यहाँ एकेडेमी अफ एग्रिकल्चर साइन्सको अवलोकन गर्नेछन् ।
६ बजे चोनकिङका प्रमुख चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य यान लिजुनसँग भेटवार्ता गर्नेछन् । सात बजे यानले दिएको रात्रिभोजमा सहभागी हुनेछन् ।
बुधबार
प्रधानमन्त्रीसहितको टोली ८ बजे तिब्बतको ल्हासाका लागि प्रस्थान गर्नेछ ।
१ बजे ल्हासामा नेपाली वाणिज्य दूतावासको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन ।
प्रधानमन्त्रीले दिउँसो पोताला दरबारको अवलोकन गर्नेछन् ।
बेलुका ६ बजे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङ जुनझेङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ ।
बेलुका उनले दिएको रात्रिभोजमा प्रधानमन्त्रीसहितको टोली सहभागी हुनेछ ।
बिहीबार
बिहान ७.३० मा ल्हासाबाट नाग्री घुन्सा विमानस्थलका लागि प्रस्थान । दिउँसो १२ देखि २ बजेसम्म माउन्ट कैलाशको बेसक्याम भ्रमण । कैलाश पर्वतको अवलोकन ।
प्रधानमन्त्री दिउँसो २ बजेपछि मानसरोवर तालको अवलोकनमा जानेछन् ।
शुक्रबार
९.४५ मा अली घुन्सा विमानस्थलबाट प्रधानमन्त्री ल्हासाका लागि प्रस्थान गर्नेछन् ।
१२.४५ ल्हासाबाट उनी फेरि छेंङदुका लागि प्रस्थान गर्नेछन् । ३ बजे प्रधानमन्त्री छेङदु पुग्नेछन् ।
४ बजे प्रधानमन्त्रीले पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रको अवलोकन गर्नेछन् ।
६ बजे सिचुवान प्रान्तका कम्युनिष्ट पार्टी प्रमुख वाङ सीओहुइसँग उनको भेटवार्ता हुनेछ ।
७ बजे वाङले दिएको रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् ।
शनिबार
प्रधानमन्त्री बिहान ९.५५ मा छुेङदु विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्रीका एजेण्डा
बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ ।
चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला चीनले प्रतिबद्धता व्यक्त गरेका अनुदानका कार्यक्रमलाई पनि एजेन्डमा राखिएको छ भ्रमणको बेला चीनसँगका सीमा नाकाका विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दार्चुला, बझाङ, डोल्पा, गोरखा, संखुवासभा, दोलखालगायतका जिल्लामा रहेका चीनसँगको नाकाहरू वर्गीकरण गरेर बाह्रै महिना चल्ने नाकाहरूलाई त्यहीअनुसार सञ्चालन ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केही एजेन्डा जलस्रोत क्षेत्रसँग सम्बन्धित रहेका छन् । यसमा जलविद्युत् आयोजना र विद्युत् प्रसारण लाइन पर्छन् ।
सडक निर्माणको विषयमा पनि चीनसँग सहयोग माग्ने तयारी छ । सेतीमा फास्ट ट्रयाक बनाउने, हिल्सादेखि सुर्खेतसम्म सडक, नुवाकोटदेखि छहरेसम्म एउटा टनेलको निर्माण, कोदारी राजमार्गको अपग्रेड र पुनर्निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि केही परियोजनाहरु अगाडि बढाउने योजना रहेको मन्त्रालयले जनाएको छ । चीन भ्रमणमा व्यापार घाटालाई पनि ध्यानमा राखेर नेपालको तर्फबाट चीनतिर निर्यात हुनसक्ने मालसामान के के हुन सक्छन्, त्यसमा चीन र नेपालले साझा लगानी गरेर उत्पादन कसरी वृद्धि गर्न सकिन्छ र व्यापार घाटालाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेबारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।