लिबियाको बाढीमा २३ सय जनाको मृत्यु, सात हजार घाइते र १० हजार जना वेपत्ता
उत्तर अफ्रिकी देश लिबियामा मङ्गलबार आएको विनाशकारी आँधी र बाढीका कारण अहिलेसम्म दुई हजार तीन सय जना भन्दा बढीको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार लिबियाको डेर्ना सहरमा आएको बाढीका कारण अहिलेसम्म कम्तिमा २ हजार ३ सय जनाको मृत्यु भएको हो ।
लिबिया सरकारका मन्त्री हिचेम अबु चिकाउटले भने, “त्यहाँ जताततै लाशहरू छन्…समुद्रमा, उपत्यकाहरूमा र भवनहरू मुनि लाश मात्रै देख्न सकिन्छ ।”
सात हजारभन्दा बढी घाइते र १० हजारभन्दा बढी बेपत्ता भएको बताइएको छ । मृतकसँगै घाइते र बेपत्ताको संख्या पनि बढिरहेको छ ।
आँधी डेनियलसँगै आएको वर्षाको कारणले यो विनाश भएको हो। डेनियल आँधीले ग्रीस, बुल्गेरिया र टर्कीलाई असर गरेपछि गत आइतबार लिबियामा प्रहार गरेको थियो।
बाढीको जोखिममा रहेको डेरना सहर भूमध्यसागरको पूर्वी तटमा अवस्थित छ । पहाडले घेरिएको यस सहरको बीचबाट एउटा मौसमी खोला बग्छ।
गर्मीयाममा खोला सुक्खा रहन्छ । तर केही घण्टामै यस खोलाको किनारबाट पानी निस्किएर सहरका अधिकांश भाग बगाएको छ ।
डेर्ना सहर वरिपरि रहेका बाँधहरूले बाढीबाट सहरलाई जोगाउने भूमिका खेल्छन्। तर यसपटक सबै बाँध बाढीले बगाएको छ ।
सोसल प्लेटफर्म एक्समा जारी गरिएको भिडियोमा बाँधको बाँकी संरचना सहरभन्दा साढे ११ किलोमिटर किलोमिटर माथि दुईवटा नदी उपत्यकाको मिलन स्थलमा देखिन्छ ।
यस ठाउँ वरिपरि हिलो रङको पानी फैलिएको छ। भिडियोमा एक व्यक्तिले यहाँ कुनै बेला बाँध भएको भन्दै गरेको सुनिएको छ । रोयटर्सले तस्बिरहरूको आधारमा यो ठाउँ पुष्टि गरेको छ।