पार्टी रूपान्तरण अभियानः १३ वटा प्रश्नमा जनताको सुझाव माग्दै माओवादी

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्र यतिबेला विशेष रुपान्तरण अभियानमा छ । भदौ १६ गतेदेखि सुरु भएको अभियान आगामी तीन महिनासम्म जारी रहनेछ । यो बीचमा माओवादीले २५ लाख मतदातासम्म पुग्ने लक्ष्य लिएको छ ।

त्यसका लागि घरघरमा पुगेर पार्टीको पक्षमा माहोल बनाउने माओवादीको रणनीति रहेको छ। अभियानका क्रममा माओवादीले जनतासँग लिखित सुझाव नै लिने नीति लिएको छ ।

त्यसका लागि केन्द्रीय कार्यालयले १३ बुँदे प्रश्नसहितको सुझावपत्रको खाका बनाएर मातहतका कमिटीमा पठाइसकेको छ । अभियान अन्तरगत हरेक वडा तहमा नेताहरु खटिनेगरी कार्यविभाजन गरेको माओवादीले १३ बुँदे प्रश्नमार्फत पार्टीलाई सुधार गर्न सहयोगी हुने विश्वास लिएको छ ।

जसमा घरमुलीको परिचय, परिवार संख्या र व्यक्तिगत एवं पारिवारिक रूपमा भोग्न परिरहेका समस्याहरू बुँदागत रुपमा सोधिएको छ । यस्तै स्थानीय सरकारका कामकार्बाहीबाट तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?, माओवादीको स्थानीय/जिल्ला तहको पार्टी कमिटी र नेताहरूको भूमिका कस्तो लाग्छ, पार्टी चलायमान, गतिशील र जनताका समस्या सम्बोधन गर्ने खालको बनाउन के–के गर्नुपर्ला ? जस्ता प्रश्न सोधिएका छन् ।

यस्तै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रो कामका विवरण र सन्तुष्टि असन्तुष्टिका विषय पनि प्रश्नमा समावेश गरिएको छ। यस्तै संघीय सरकारका कामलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने काम र माओवादी पुनर्निर्माणका लागि के गर्नुपर्छ भनेर बुँदागत रुपमा सुझाव पनि माग गरिएको छ ।

जनताको सुझावका रुपमा भरिएका फारामहरू स्थानीय तहको कमिटीले डिजिटल (गुगल फाराम) को माध्यमबाट रेकर्डमा राख्नुपर्ने माओवादीले जनाएको छ । स्थानीय तहको कमिटीको डिजिटल फारामका आधारमा प्रदेश कार्यालयले मंसीर ७ गतेभित्र केन्द्रीय कार्यालयमा लिखित रिपोर्ट पठाउनुपर्ने माओवादी केन्द्रले जनाएको छ।