ओलीको अवज्ञा लुम्बिनीबाट सुरु हुने संकेतः विष्णु र शंकरबीच गुट निर्माणको प्रस्थानबिन्दु

मूलखबर संवाददाता
काठमाडौं, १८ भदाै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीमा आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुभन्दा सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। पार्टीमाथी चौतर्फी घेराबन्दी भएको र यस्तो बेला आन्तरिक प्रतिस्पर्धा गर्दा पार्टीभित्र गुटगत प्रवृति झन् मौलाउने मौका पाउने भन्दै ओलीले सहमतिमा नेतृत्व चयन गर्न भनेका थिए।

पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आकांक्षीमध्ये एक– एक जनालाई बोकेर अध्यक्ष बनाउन लविङ थालेपछि ओली दवावमा छन् । केन्द्रीय पदाधिकारी नेताहरुको पिठूयुमा चढेर प्रदेश नेतृत्व हात पार्ने योजनामा प्रदेशका आकांक्षी लागेपछि ओली त्यसले पार्टीभित्र थप गुटबन्दी मौलाउने, विद्या भण्डारीको इन्ट्री हुनसक्ने र कालान्तरमा आफू नै विस्थापित हुने अवस्थामा आउनसक्ने चिन्तामा छन्।

ओलीले सचिवालयका ६ नेता रहेको प्रदेशमा लफडा भएको भन्दै आइतबार राति नै नेतृत्व टुंग्याउन मञ्चबाटै अह्राए । उनले पदाधिकारीको नाम आफैँ पढ्ने इच्छासमेत जाहेर गरेका थिए ।

“यत्रो विधि नेताहरूको लाइन यहीँ, नेताहरूले मिलाउनुपर्दैन ? महासचिव जानुभएको छ, युवराजजी आउन पाउनुभएन,” ओलीले भने, “अरू नेताहरू भरे बेलुका बस्नूस्, सबै साथीहरूलाई चित्त बुझ्ने समाधान निकाल्नूस्, भोलि बिहान मै घोषणा गर्दिउँला, केही छैन । तर, समाधान निकाल्नूस् ।”

आयतबार बिहानको बन्दसत्रमा पनि ओलीले सहमतिमै अधिवेशन सक्न निर्देशन दिए । प्रदेश इन्चार्ज पद्‌मा अर्याललाई नेतृत्व टुंग्याउन भनेर उनी काठमाडौं फर्किए । तर, ओलीको बोलीको अवज्ञा हुने देखिएको छ । लुम्बिनको प्रदेश अध्यक्षको दाबी गरिरहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा होमिने तयारीमा छन् ।

बुटवलमा जारी प्रदेश अधिवेशनमा अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल खेमाका उम्मेदवार हुन् भने रिजाल महासचिव शंकर पोखरेल समूहका हुन् ।
त्यस्तै पार्टीका प्रदेश सचिव लक्ष्मण आचार्य, केन्द्रीय सदस्यहरू लक्ष्मण ज्ञवाली र भीम केसीले पनि नेतृत्वका लागि लबिङ गरिरहेकै छन् ।

लुम्बिनी एमालेका थुप्रै केन्द्रीय नेताहरुको प्रदेश हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मासहित पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरेलगायतका नेताहरू यसै प्रदेशका हुन् ।

हुन पनि एमालेमा लुम्बिनीले देखाउने अभ्यासले अन्य प्रदेशलाई सन्देश संप्रेषित गर्नेछ । लुम्बनीमा अघिल्लो चुनावदेखि नै पौडेल र पोखरेलबीच वर्चश्वको लडाईं थियो । त्यसको प्रभाव चुनावी नतिजामा पनि परेको थियो ।

संसदीय दलको टिकट वितररणदेखि पालिकाको टिकट वितरणमा समेत पोखरेल र पौडेलको दुश्मनीपूर्ण सम्बन्धको संकेत गरेको थियो । त्योभन्दा पहिला लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा दुई नेताले प्रतिष्ठाको लडाईं बनाएका थिए । त्यसैले, लुम्बिनी एमालेको ओलीभित्र पौडेल र पोखरेलको गुट निर्माणमा प्रस्थानबिन्दु बन्ने संकेत गरेको छ ।