समस्या समाधानमा प्रचण्डको अन द स्पट एक्सन, स्थानीयले घन्काए ‘प्रचण्ड जिन्दावाद’को नारा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन महिने रुपान्तरण अभियानको क्रममा शनिबार चन्द्रागिरि नगरपालिका २ घट्टेडाँडामा खटिए । कार्यक्रममा स्थानीयले नागढुंगा सुरूङमार्गले पारेको मर्काबारे जानकारी गराए ।

त्यसपछि कार्यक्रम स्थलबाटै प्रचण्डले आयोजना प्रमुख नवीन शाक्यलाई टेलिफोन गरी स्थानीयको समस्या समाधानको सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न निर्देशन दिए ।

त्यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयले घर चर्किएको, पानीको मुहान सुकेको तर राहत नपाएको गुनासो गरेका थिए । त्यसमा अफ्नो गम्भीर चासो रहेको भन्दै उनले बागमती प्रदेश इन्चार्ज एवम् उपमहासचिव जनार्दन शर्मालाई आयोजना प्रमुखलाई फोन गर्न लगाए । फोन सम्पर्क स्थापित भएपछि शर्माले मोबाइल प्रधानमन्त्री प्रचण्डलाई दिए ।

 

त्यसपछि प्रचण्डले मञ्चबाटै जनताको समस्या समाधान गर्न आयोजना प्रमुखलाई निर्देशन दिँदै भने– ‘हेलो नवीनजी, नमस्कार । म अहिले चन्द्रागिरि–२ को जनताको साथमा छु । आयोजना निर्माणको क्रममा विस्फोट गर्दा घर चर्किएको, पानीको मुहान सुकेको, ठूलो हिस्सा आयोजनाबाट प्रभावित भए पनि राहत नभएको गम्भीर ढङ्गले उठाउनुभएको छ । त्यसमा के गर्न सकिन्छ एक हप्ताभित्र सुझावसहित प्रतिवेदन पेस गर्नु र समस्याको हल निकाल्नु । यो मेरो निर्देशन भयो । बाँकी कुरा भेटमा गरौंला ।’

प्रधानमन्त्री प्रचण्डले अन द स्पट जनताका समस्या समाधानका लागि पहलकदमी लिएपछि स्थानीय हर्षित भए । कार्यक्रमस्थलमा गडगडाहट ताली बज्यो । अनि स्थानीयले ‘प्रचण्ड जिन्दाबाद’ भन्दै नारा लगाए ।

अहिलेसम्म कुनै पनि सरकारले जनताका समस्या समाधानका लागि यसरी पहल नगरेको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डप्रति आशा जागेको बताए ।

 

माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको मुख्य काम नै जनताको बीचमा जाने, जनतासँग घुलमिल हुने, उनीहरुका समस्या सुन्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टी एवम् सरकारका लागि जनताले दिने सुझाव संकलन गर्ने छ ।

जुन काम प्रधानमन्त्री प्रचण्डले चन्द्रागिरि नगरपालिका–२ को घट्टेडाँडामा थालनी गरेका छन् र स्थानीयबासी पनि उत्साहित भएका छन् ।

स्थानीयले साँघुरा सडक स्तरोन्नति, त्रिभुवन पार्क स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने लगायतका माग पनि राखेका थिए । साँघुरा सडक फराकिलो बनाउने बारे विचार गरिरहेको भन्दै त्रिभुवन पार्क स्थानीय पालिकालाई हस्तान्तरण प्रक्रिया सुरु गर्ने बचनसमेत दिए ।

जनयुद्धमा मारिएका सेना/प्रहरीका घरमा पनि जान निर्देशन

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अभियानभर विपक्षी दलदेखि जनयुद्धमा मारिएका सेना/प्रहरीका घरसम्म जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । सबैको घरमा गएर माओवादी आन्दोलनबारे बुझाउन उनले निर्देशन दिए ।

नेकपा (माओवादी केन्द्र) ले शनिबारदेखि ७५३ वटै पालिकाका ६ हजार ७४३ वडामा एकसाथ ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु गरेको छ । सो अभियानको उदघाटन प्रधानमन्त्री प्रचण्डले पार्टी कार्यालय परिसडाँडाबाट गरे भने वडा तहका पार्टी कमिटीहरुले उदघाटन समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार केन्द्रीय पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, विभाग, जबस मोर्चादेखि प्रदेश समिति सदस्यसमेत तोकिएको वडा वडामा खटिएका छन् ।

यही क्रममा प्रधानमन्त्री प्रचण्ड आफैं घट्टेडाँडामा खटिएका थिए । पार्टी कार्यालयबाट अभियान उदघाटन गरेर घट्टेडाँडा पुगेका प्रचण्डलाई महिला समूहको पञ्चेबाजाको टोलीसहित नेता, कार्यकर्ता र स्थानीयवासीले भव्य स्वागत गरे । आफ्नै घरआगनमा प्रधानमन्त्रीलाई पाउँदा र उनीसमक्ष आफ्ना समस्या राख्न पाउँदा स्थानीय दङ्ग थिए ।

घट्टेडाँडा पार्कमा पुगेर वृक्षारोपण गरेपछि प्रचण्ड स्थानीयसँग प्रत्यक्ष संवादमा जोडिएका थिए । स्थानीयले सुशासनको अभियानमा खुट्टा नकमाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका गर्दै यस लडाइँमा आफूहरूको पूर्ण सहयोग रहने बताएका थिए । स्थानीयको ऐक्यबद्धताबाट हौसिएका प्रचण्डले जनताको समर्थनले आफूलाई निकै तागत मिलेको बताए । उनले भ्रष्टाचार, तस्करी, माफियामा जोसुकै भएपनि सरकारले नछाड्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘भ्रष्टाचार, तस्करी, बेथितिमा जोसुकै जस्तोसुकै नेता, त्यो कांग्रेस होस् वा एमाले वा प्रचण्ड नै भए पनि नछोड भनेर मैले निर्देशन दिएको छु ।’

उनले कार्यक्रमका प्रश्नकर्ता, टिप्पणीकर्ता, आलोचक लगायत सबैप्रति आभार प्रकट गरे । देशका अन्य पालिकाहरुमा पनि यस्ता खालका टिप्प्णी र आलोचना आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘ती सबै सुझाव आलोचना, टिप्पणीहरु र प्रश्नहरुले हाम्रो पार्टीलाई रुपान्तरण गर्न, अझ जनवादी, अझ जनपक्षीय, अझ राष्ट्रवादी, देशभक्त पार्टी बन्न र जनताको निम्ति समर्पित भएर काम गर्नका लागि उत्प्रेरित गर्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु ।’