माओवादीपछि चीन जाँदै एमाले टोली, चीनले दिइरहेको सन्देशः नेपालमा कम्युनिष्ट मिलुन्
माओवादीको जम्बो टोली चीन भ्रमण गरेर फर्किएको ३ महिना पनि नवित्दै नेकपा एमालेका नेताहरु १३ दिन लामो चीन भ्रमणमा जाँदैछन्।
महासचिव शंकर पोखरेलसहित २१ जनाको टोली आगामी शनिबार बेलुका चीनको दुई हप्ता लामो भ्रमणमा जान लागेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणमा जान लागेको उच्च स्तरीय भ्रमण टोलीमा महासचिव पोखरेलसहित जनसंगठनका पदाधिकारी, युवा संघ, जिफन्टका पदाधिकारी समेटिएको केन्द्रीय सदस्य रचना खड्काले बताइन। उनका अनुसार विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह भ्रमण टोलीमा छन्।
के चाहन्छन् चीन
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चीनले ‘चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्न’ विज्ञहरुको टोली पुस १२ गते नेपाल पठायो। चिनियाँ दूतावासले चीन-नेपाल अन्तरदेशीय रेलमार्गलाई ‘नेपाल र चीनबीच बीआरआई निर्माणको अभिन्न अंग’ भएको पनि बताएको थियो। त्यसको पाँच दिनपछि पुस १७ गते चिनियाँ कम्पनीले बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरियो। चीनले उक्त विमानस्थललाई बीआरआई परियोजना अन्तर्गतको आयोजना भनेर व्याख्या गर्यो।
२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा नयाँ सरकार बनेपछि चीनले उत्साह देखाएको थियो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले २६ डिसेम्बर (११ पुस)मा नियमित पत्रकार सम्मेलनमार्फत नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘पुरानो मित्र तथा छिमकी राष्ट्र नेपालसँग चीनको सम्बन्धले गहिरो अर्थ राख्छ। हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न र सहकार्य गर्न तयार छौं।’ उनले ‘बेल्ट एन्ड रोड कोअपरेसन’ लाई अघि बढाउने, विकास र समृद्धिसँगै दुई देशका जनतालाई लाभ पुग्नेगरी रणनीतिक साझेदारीलाई नयाँ गति प्रदान गर्नेजस्ता विषयमा नेपाल सरकारसँग सहकार्य गर्न चाहेको बताएकी थिइन्।
चीनले नेपालका कम्युनिस्टहरु मिलुन् भन्ने शुभेच्छा सधैं राख्ने गरेकै छ, जसलाई नेपालका वामपन्थी विश्लेषकहरुले स्वाभाविक बताउने गरेका छन्। चीनको धारणा बुझ्न प्रधानमन्त्री प्रचण्डले माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीन पठाएका थिए। करिब दुई साताको चीन बसाइपछि माओवादी उपाध्यक्ष नेतृत्वको टोली जेठ १९ गते स्वदेश फर्किएको थियो।
माओवादीका सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्यसमेत सहभागी टोलीले तिब्बत, बेइजिङ र हुबेइ प्रान्तको भ्रमण गरेको थियो। माओवादी नेताहरुको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग औपचारिक भेटघाट र कुराकानी गरेको थियो। छाओले यसअघि विदेश विभाग प्रमुख नियुक्त भएलगत्तै पहिलो भ्रमण नेपाल गरेका थिए।
माओवादीको प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख छाओसँग राजधानी बेइजिङमा जेठ ११ मा भेटवार्ता गरेको थियो। उपाध्यक्ष सापकोटासँग एक्लै र त्यसपछि पदाधिकारीसहित भएको भेटवार्तामा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो।
नेपाल फर्किएपछि अग्निप्रसाद सापकोटाले चीनले नेपालका कम्युनिस्टहरू मिलुन् भनेर सद्भावरसन्देश पठाएको बताएका थिए। उनले भनेका थिए, “चीनले नेपालका कम्युनिस्टहरू मिलून् भन्ने चाहन्छ, त्यही सन्देश छ ।”