आजदेखि एमसिसी कार्यान्वयनमा, पाँच वर्षभित्र काम नसकिए के हुन्छ ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपालमा अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन आजदेखि औपचारिक रुपमा सुरु भएको छ ।

आजको मितिदेखि पाँच वर्षभित्र अर्थात् २०८५ भदौ १३ गते भित्र एमसिसी परियोजना कार्यान्वयन गरिसक्नु पर्ने छ । अन्यथा नेपालले एमसिसीमार्फत पाउने भनिएको अनुदान रकम नपाउने सर्त छ ।

‘इन्ट्री इन्टु फोर्स–इआइएफ’ मा प्रवेश गरेको भनिएको यस सम्बन्धी पत्र अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालमा भ्रमणमा रहेका एमसिसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले बुधबार  आदानप्रदान गरेका छन् । उनीहरुले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गरेपछि एमसिसी परियोजनाको कार्यान्वयन औपचारिक रुपमा सुरु भएको छ ।

अब एमसिसी आयोजना कार्यान्वयनका लागि गठित एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजना सञ्चालन हुनेछन् ।

नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।

सम्झौता पत्र आदानप्रदान कार्यक्रममा अर्थमन्त्री डा। महतले एमसिए–नेपाल अन्तरगत कार्यान्वयन हुने विद्युत् प्रसारणलाईन र सडक आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।

यसैगरी एमसिसीका उपाध्यक्ष अल्फोर्डले एमसिसी अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा इआइएफ एक महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए ।