बुटबलबाट समाजवादी मोर्चाको सन्देशः अबको सहकार्य समाजवादी गणतन्त्रसम्म

मूलखबर संवाददाता
काठमाडौं

समाजवादी मोर्चाका नेताहरूले अबको लक्ष्य समाजवादी गणतन्त्र भएका कारण त्यसकै लागि सहकार्य हुने संकेत गरेका छन्। समाजवादी मोर्चाले मङ्गलबार बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेताहरूले यस्तो संकेत गरेका हुन्।

सभामा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औँल्याए उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानुपर्ने भनाइ राखे ।

प्रधानमन्त्री प्रचण्डले भने, “अहिलेको गणतन्त्र जनताको हो की बुर्जवाको हो अझै टुङ्गो लागेको छैन, हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौँ ।” उनले समाजवादी गणतन्त्रका लागि अब छिट्टै सडकमा जाने पनि बताए । उनले गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न, संविधानको रक्षा तथा गरिब उत्पीडित जनताका लागि अधिकार प्रत्याभूत गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको पनि आरोप लगाए । संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुनसक्छ भन्दै उनले प्रश्न गरे । प्रचण्डले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्ति आफूहरु सँगै भएको बताउँदै समाजवादी मोर्चाको भविष्य रहेको बताएका छन् ।

सरकारमा बस्न कुनै शक्तिसँग अनुचित सम्झौता नगर्ने बताउँदै उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए ।

‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’, उनले भने ।

प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको बताए । उनले अहिले प्रतिक्रियावादी शक्तिहरु जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको औंल्याए ।

जनयुद्ध र जनआन्दोलनका मुख्य शक्तिहरु अहिलेको मोर्चामा रहेको उनकाे भनाइ थियो । ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरु नक्कली हुन्’, प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै भने, ‘पटक पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन ।’

उनले अहिलेको गणतन्त्र दलाल पूँजीवादी गणतन्त्र भएको भन्दै मुलुकका लागि जनगणतन्त्रभन्दा माथिको समाजवादी गणतन्त्र चाहिएको बताए ।

‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरुको, श्रमिक वा पूँजीपतिहरुको हुने हो ? त्यसैको लागि यो मोर्चा बनेको छ’, प्रचण्डले भने, ‘एक्लै लडेर यो लडाइँ जित्न सकिँदैन, यसका लागि मित्रहरुको खोजी गरिनुपर्छ ।’

उनले सुशासनको पक्षमा सरकारले काम गरेकाले आम जनतामा केही हुन्छ कि भन्ने आशा र भरोसा जागेको बताए । उनले समाजवादी मोर्चाले आवश्यक परे लाखौं जनतालाई सडकमा ल्याउनुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘एमसीसी’मार्फत राखेका अनुचित स्वार्थ पूरा गर्न नसकिने बताए । उनले एमसीसीमा केही त्यस्ता अनुचित स्वार्थका विषय र सर्त भए नेपाली जनतालाई स्पष्ट पार्न प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।

उनले नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन नसक्ने बताउँदै संसद्मा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसीसीको अङ्ग घोषणा गरेर पास गरिएको स्पष्ट पारे । “नेपालको भूमिमा नेपालको अधिकार छ । अरुको अधिकार स्वीकार्न सक्दैनौँ”, उनले भने, “नेपालको कानुनभन्दा अरुको कानुनमाथि हुनुहुँदैन, सत्ता जोगाउन कसैसँग अनुचित सहमति गरिनुहुँदैन ।”

नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै अध्यक्ष नेपालले संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा रहेको बताए । उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्नसमेत आग्रह गरे । केन्द्रसँगै प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा अध्यक्ष नेपालको जोड थियो । “हामी जहाँ छौँ, त्यहिबाट जनताको पीडा र बेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ”, उनले भने ।

नेकपा महासचिव नेत्रविक्रम (विप्लव)ले विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको आवश्यकताले मोर्चा गठन भएको स्पष्ट पारे । उनले समाजवादी मोर्चा कुनै व्यक्तिगत चाहनाबाट नभएर वर्तमानको आवश्यकताले गठन भएको बताए । “राजनीतिक उपलब्धि धेरै भए, पुँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा चाहेका उपलब्धि भएनन्”, उनले भने, “अब एक्लै हिँडेर त्यो उपलब्धि हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो ।”

महासचिव विप्लवले देशलाई साम्राज्यवादको चङ्गुलबाट मुक्त गराउन मोर्चा गठन भएको बताउँदै भने, “हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।”

उनले एमसीसी परियोजना कार्यान्वयनमा नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न नदिने बताए । “नेपाललाई निःस्वार्थ सहयोग गर्न चाहने कसैको पनि हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिँदैन”, उनले भने, “समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।”

जनता समाजवादीका केन्द्रीय कार्यकारी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवले वर्तमान सरकारलाई नेपाली जनताले आशा र विश्वासका साथ हेरेको बताउँदै जनताको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले देशको गरिबी, अशिक्षा, बेरोजगारीजस्ता तमामखाले समस्याको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा सरकार अघि बढे जनतालाई वास्तविक न्याय मिल्ने बताए ।

लुम्बिनीमा समाजवादी मोर्चा घोषणा

लुम्बिनी प्रदेशमा समाजवादी मोर्चा घोषणा गरिएको छ । मङ्गलबार बुटवलमा आयोजना गरिएको मोर्चाको सन्देश सभामा प्रदेशस्तरीय समाजवादी मोर्चामा चयन गरिएका समितिका सदस्यको नाम घोषणा गरिएको हो ।

समाजवादी मोर्चामा आबद्ध दलबाट तीन÷तीन जना सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको हो । माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारु र सचिव कृष्ण अधिकारी रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् भने नेपाल कम्युनिष्ट पार्टीबाट पोलिटब्यूरो सदस्य वसन्त श्रेष्ठ तथा नारायण र सम्झना रहेका छन् ।