अध्यक्षदेखि साधारण सदस्यसम्म वडामा पुग्ने माओवादी अभियानको कार्ययोजना तयार

मूलखबर संवाददाता
काठमाडौं

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेदेखि औपचारिक रुपमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उदघाटन गर्दैछ ।

तीन महिने अभियानको शुभारम्भ प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहबाट गर्नेछन् ।

यद्यपि रूपान्तरण अभियान अन्तर्गत माओवादी नेता कार्यकर्ताहरु ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित बैठक, अन्तरक्रिया, भेटघाट लगायतका कार्यक्रममा केन्द्रीय समिति बैठक लगत्तै सक्रिय छन् ।

प्रज्ञा भवन कमलादीमा गत साउन तेस्रो साता सम्पन्न केन्द्रीय समिति बैठकले तीन महिने जागरण अभियान सुरु गर्ने निर्णय गर्दै नेताहरुको कार्यविभाजन समेत गरेको थियो ।

विगतमा जनतासँग टाढिँदा पार्टीको जनमत खुम्चिएको निष्कर्ष निकालेको माओवादी केन्द्रले रूपान्तरण अभियानमार्फत् पार्टीलाई पुरानै अवस्थामा फर्काउने लक्ष्य लिएको छ ।

यसैक्रममा राष्ट्रिय सभागृहबाट भव्य समारोहबीच अभियानको औपचारिक सुरुवात गर्ने नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले जानकारी दिए । ‘केन्द्रमा राष्ट्रिय सभागृहबाट र ७५३ वटै पालिकाबाट एक साथ अभियानको सरुवात हुन्छ,’ अनन्तले भने, ‘सकेसम्म सबै पालिकाका वडाहरुमा राष्ट्रिय सभा गृहको प्रत्यक्ष प्रसारण गर्ने योजना छ । त्यससँगै वडा–वडामा अभियान उदघाटनका आ–आफ्ना सिर्जनशील कार्यक्रम पनि हुन्छन् ।’

यो अभियानमा समाजवादी मोर्चाको अवधारणा पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा निर्णयबारे जनतालाई जानकारी दिइने छ । ‘अभियानको क्रममा हरेक वडाका सबै जनताको घरमा पुग्ने, उनीहरुको काम गरिदिने, उनीहरुका समस्या बुझ्ने, पार्टीलाई दिएका सुझाव संकलन गर्ने र उनीहरुका समस्या समाधान गर्न पहलकदमी लिने काम हुनेछ,’ उपमहासचिव अनन्तले भने । अभियानको क्रममा जनतालाई दुःख नहोस् भनेर खानपानको व्यवस्था आफैंले गर्न भनिएको छ ।

टुङ्गियो कार्यविभाजन

अभियानका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज फेरबदल गरेको थियो । माओवादीमा सातवटा भौगोलिक र तीनवटा गैरभौगोलिक (उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास) गरी १० प्रदेश छन् ।

 

अभियानको क्रममा उपत्यका विशेष र सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ ।

प्रदेश इञ्चार्जहरूलाई आ–आफ्नो प्रदेशमा हुने अभियानका कार्यक्रमहरुको संयोजन गर्ने जिम्मा पार्टीले दिएको छ । अभियानमा सम्पूर्ण जनवर्गीय संगठन, मोर्चा, कलाकार र संस्कृतिकर्मीहरुलाई पनि परिचालन गरिने छ ।

अभियानको क्रममा पार्टीका केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको उपमहासचिव अनन्तले जानकारी दिए ।

यस अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यो अभियानको क्रममा फिल्डमा खटिनेछन् । तर उनी कहाँ खटिने भन्ने टुंगो लाग्न बाँकी छ ।

यस्तो छ माओवादी अभियानको विस्तृत कार्ययोजना

१. सबै तहका कमिटीका बैठक, प्रशिक्षण, स्कुलिङ सञ्चालन गर्ने ।

२. पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।

३. वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला सम्मेलन गर्ने ।

४. सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित कामहरुलाई आम जनताकाबिच पुर्याउने, सुझाव संकलन गर्ने र समर्थनका लागि अपिल गर्ने ।

५. नेपालको राजनैतिक परिवर्तनका शृङ्खला जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यान्वयनबाट प्राप्त अधिकारको महत्त्व र त्यसका लागि नेतृत्वको योगदानलाई स्थापित गर्ने ।

६. आठौं महाधिवेशनद्वारा पारित ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिहरुलाई पार्टी पंक्ति र जनसमुदायबिच पुर्याउने ।

७. आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरु जल जंगल जमिनको व्यवस्थापन सम्बन्धी नीति, कृषि, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्य सम्बन्धी नीतिहरु सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने ।

८. विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढङ्गको कम्युनिस्ट पार्टीबारे पार्टी पंक्तिमा व्यापक छलफल गर्ने ।

९. शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेसाका आधारमा संगठित गर्ने ।

१०. सहकारीहरुलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग, बजारीकरण, मल, बिउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्ने ।

११. पर्यटन, साना उद्योग सम्बन्धी कामको सम्भाव्यता अध्ययन गर्ने ।

१२. वडाको समग्र डाटा संकलन गर्ने ।

१३. आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको अभियानलाई थप प्रभावकारी बनाउन ३ वटै तहका सरकारहरुले ठोस पहलकदमी बढाउने । यो अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने, पार्टीलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा स्थापित गर्ने ।

१४. पार्टीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरुले नमूना योजना बनाई कार्यान्वयन गर्ने र ती योजनामा संघीय र प्रदेश सरकारहरुले विशेष सहयोग गर्ने ।

१५. शैक्षिक संस्था, स्वास्थ्य संस्था, स्थानीय सरकारलगायतका कार्यालयहरुको अनुगमन, निरीक्षण र अन्तरक्रिया गरी समस्या समाधानको पहल गर्ने ।

१६. सहरी क्षेत्रमा टोल सुधारका कामहरु, पानी–बिजुलीका समस्या, सार्वजनिक जग्गा अतिक्रमण, फोहोर व्यवस्थापन, जातीय–क्षेत्रीय मनोविज्ञान, आदिवासीहरुबिच अन्तरक्रिया, गुठी, मठ मन्दिर, खेल मैदान, मनोरञ्जनका क्षेत्रका समस्याबारे जानकारी लिने र समस्या समाधानको लागि पहल गर्ने ।

१७. प्राध्यापक, बुद्धिजिवी, सेवा निवृत्त कर्मचारी, मजदुर, व्यवसायी, बेरोजगार, प्राविधिक विषयका विद्यार्थीहरुको अलग अलग डाटा संकलन गर्ने, उनीहरुसँग अन्तरक्रिया गर्ने, सरकारका कामहरुबारे सुझाव लिने र उनीहरुलाई संगठित गर्ने नयाँ उपायहरु खोज्ने ।

१८. विदेशमा रहेका श्रमिकहरुको स–साना इकाइहरु बनाउने, भर्चुअल बैठक गर्ने । उनीहरुसँग प्रत्येक्ष सम्पर्क गरी समस्याहरु संकलन गर्ने र समाधानको पहल गर्ने ।

१९. प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न डिजिटल प्लेटफर्म सञ्चालनका लागि केन्द्रदेखि वडासम्मको सञ्जाल तयार गर्ने । सामाजिक सञ्जालको अधिकतम सदुपयोग गर्ने । अभियानको प्रचार सामग्री, सरकारको काम कारबाही र उपलब्धिहरुको सन्देशमूलक सामग्री तयार गर्ने । पालिकाहरुले ३ महिने अभियानको डकुमेन्ट्री बनाउने ।

२०. पार्टी बाहिरका विभिन्न संघ संस्था र व्यक्तित्वहरुबिच अन्तरक्रिया गर्ने ।

२१. सबै तहका सरकारसँग पार्टी, जवस÷मोर्चा वा अन्य सरोकार समितिहरुको तर्फबाट जनजीविका लगायत विषयमा ज्ञापनपत्र÷मागपत्र पेस गर्ने ।