रुसमा असफल विद्रोह गरेका येवगेनी प्रिगोजिन मारिएकै हुन् !

मूलखबर संवाददाता
काठमाडौं

केही समयअघि रूसको संस्थापनविरूद्ध विद्रोह गरेको सैन्य कम्पनी ‘वागनर’ समूहका प्रमुख येवगेनी प्रिगोजिन बुधबार राति एक विमान दुर्घटनामा मारिएको आशंका गरिएको छ। रूसको राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग गइरहेको एउटा जहाज बुधबार राति दुर्घटनाग्रस्त भएको र त्यसमा येवगेनी प्रिगोजिन पनि सवार रहेको रूसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त जहाजमा प्रिगोजिनसहित सात जना यात्रु र चालक दलका तीन जना सदस्य थिए। उक्त जहाज करिब आधा घन्टा उडेपछि जमिनमा खसेको र आगो लागेको बिबिसीले लेखेको छ। दुर्घटनाग्रस्त जहाजबाट अहिलेसम्म चार जनाको शव निकालिएको बिबिसीले उल्लेख गरेको छ।

रूसका लागि युक्रेनसँग लडिरहेको वागनर समूहका प्रमुख प्रिगोजिनले गत असार महिनामा रूसकै विरूद्ध हतियार उठाएका थिए। उनले रूसको रोस्तोव सहरका सैन्य क्षेत्र र भरोनेजमा रहेको सैन्य क्षेत्र नियन्त्रणमा लिएका थिए। त्यसपछि उनको वागनर समूहले रोस्तोवबाट मस्कोसम्मको आधाभन्दा बढी दूरी पार गरिसकेको थियो।

पछि प्रिगोजिनले बेलारूसका राष्ट्रपति लुकाशेन्कोसँग वार्ता गरे र उनकै अनुरोधमा बीचबाटै आधारशिविर फर्किए। लुकाशेन्कोकै मध्यस्थतामा प्रिगोजिनले विद्रोह रोकेर बेलारूसमा शरण लिएका थिए। उनी पुटिन जन्मिएको सहर सेन्ट पिटर्सबर्गका हुन्। चोरी मुद्दामा केही समय जेलसमेत बसेका उनले सेन्ट पिटर्सबर्गमा ‘हट डग’ बेच्ने काम गर्थे। केही वर्षमै व्यापार राम्रो हुन थालेपछि उनले महंगा रेष्टुरेन्टसमेत खोलेका थिए।

पछि उनको केटरिङ कम्पनीले राष्ट्रपति भवनमा खाना सप्लाई गर्न थालेको थियो। यही कारणले प्रिगोजिनलाई पुटिनको सेफको नाम दिइएको बिबिसीले जनाएको छ। वर्षौंसम्म यो समूह अस्तित्वमा रहेको रूस सरकारले स्विकारेको थिएन। तर सन् २०२२ जुलाई २७ मा पूर्वी युक्रेनमा रूसका लागि लडिरहेको क्रेमलिनले स्वीकार गरेको थियो।

वागनर समूह पहिलोपटक सन् २०१४मा पहिचान भएको थियो। यसले सन् २०२२ मा ठूलो संख्यामा सैन्य भर्ना गर्न थालेको थियो। यो समूहमा रहेका ८० प्रतिशत सैनिक जेलमा रहिसकेका व्यक्तिहरू हुन्।