दलहरूबीच संसद खाेल्ने सहमति, बन्ने भयाे छानविन समिति

मूलखबर संवाददाता
काठमाडौं, ४ भदौ

अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद अबरोध हटाउन सहमत भएको छ। सोमवार मध्यरातीसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रधानमन्त्री कार्यालय सिंहदरवारमा राष्ट्रिय मान्यता प्राप्त ७ दलको बैठकमा एमाले संसदको अबरोध हटाउन सहमत भएको हो।

एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफ्नो मत पनि राखेको छ। सरकारले पनि समिति बनाउन सकारात्मक देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले उच्चस्तरीय छानबिन समिति गठनका विषयमा भोलिसम्ममा टुंगिने बताए ।

सीआईबीले गरिरहेको अनुसन्धानलाई अवरोध नगर्ने गरी छानबिन समिति बनाउन लागेको दाबी दलहरुले गरेका छन् ।

एमाले प्रमुख सचेतक पदम गिरी सीआईबीको छानबिनमा क्रममा कुनै कमी भए नभएको हेर्नुका साथै तस्करी रोक्न कानुनी र संरचनागत सुधारका लागि चाल्नुपर्ने कामबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा आफूहरु प्रष्ट रहेको बताउँछन् ।