प्रधानमन्त्रीले गरे संसद खुलाउन गम्भीर पहल : मान्यताप्राप्त दलहरुसँग भयो बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको जारी गत्यारोध अन्त्य गर्न गम्भीर पहल थाल्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले ऎन कानुन बनाउने र देश र जनताका दैनिक समस्याबारे छलफल गर्ने बेलामा बन्धक बनेको जनप्रतिनिधिमुलक संस्थाको गरिमा जोगाउन गम्भीर पहल लिने उद्देश्यका साथ संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुको बैठक सिंहदरबारमा बोलाउनु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो १२ः३० बजे बोलाइएको बैठकमा मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले अवरोध हुँदै आएको छ । सोही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।
प्रधानमन्त्रीले आह्वान गर्नुभएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ । संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् । रासस