प्रचण्ड सबै दलको साझा नेता र संकटको समाधान हाे : अनन्त
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड´ दलभित्र र बाहिर सबैकाे नेता भएको बताएका छन् । `प्रचण्ड नेपाली कांग्रेस र एमालेको समेत नेता हाे, असजिलो पर्दा सबैलाई प्रचण्ड नै चाहिन्छ, उनलेे भने ।
पार्टीको उपत्यका विशेष प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै इन्चार्जसमेत रहेका उनले माओवादी तेस्रो शक्ति भए पनि अफ्ठ्यारो स्थितिमा कांग्रेस र एमालेलेलाई प्रचण्डलाई नै खोज्दै आउने गरेको बताए।
‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेस्रो शक्ति छौं। तर सरकारको नेतृत्व गरिरहेका छौं। राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो,’ उनले भने, ‘कांग्रेस-एमालेले बेलाबेला गाली गर्छन्, तर अफ्ठ्यारो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ।’
माओवादीले गत आम निर्वाचनमा ११ प्रतिशत मतमात्रै पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको दाबी छ। ‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ। तर सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन्,’ उनले भने।
पुनले वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताए। ठूला भ्रष्टाचार र बेथितिहरूमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उनको भनाइ छ।