सरकारकाे भ्रष्टाचार र सुन तस्करीविरूद्वकाे अभियानमा सबैले साथ दिनुपर्छ : वर्षमान पुन अनन्त
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताउँदै सरकारबाट राम्रो कामको थालनी भएको बताएका छन् ।
पार्टीको राजधानीमा जारी बैठककाे चाैंथाे दिन बैठकमा आफ्नो धारणा राख्दै उनले भने, “भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।”
पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको बताउँदै उनले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए । पुनले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राखे । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूपहरू फेरिएको भन्दै उनले अहिलेको मूल मोर्चा सरकार नै भएको स्पष्ट पारे ।
अनन्तले पार्टीको नेतृत्वमा प्रचण्डको विकल्प कसैले नखाजेकाे तर विचारधारा र विधिकाे आधारमा आगामी उत्तराधिकारी बनाउने कुरा बस्तुसंगत हुने बताए । उनले नेतृत्वमा युवा प्राैढ र जेष्ठ नागरिकको समायाेजन गर्न आवश्यक हुने बताए ।