माओवादी केन्द्रीय समिति बैठक जारी, प्रचण्डलाई हस्तक्षेपकारी नेतृत्व गर्न दबाब

मूलखबर संवाददाता
काठमाडौं, १८ साउन

सत्तारूढ दल  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो । बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रस्तावमाथि धारणा राखिरहेका छन् ।

दाेश्राे दिनकाे बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्यहरू लेखनाथ न्याैपाने, विजय साङपाङ, माधव सापकाेटा, झकबहादुर मल्ल, दिपेन्द्र पुन सिजल, दिलिप शाह, दिलिप श्रेष्ठ, विष्णुप्रसाद भट्ट, भिमकुमारि बुढालगायतले धारणा राखेका छन् ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि आआफ्नो धारणा र सल्लाहसुझाव राख्ने क्रम जारी छ ।

बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राख्नुभएको पार्टी सुदृढीकरणको प्रस्तावमा १८ केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा धारणा राख्ने नेताहरूले प्रचण्डले पेश गर्नुभएको प्रस्तावकाे पुर्ण समर्थन गर्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । उनीहरूले प्रचण्डले हस्तक्षेपकारी नेतृत्व गरेर प्रस्ताव कार्यान्वयनमा लैजानुपर्ने बताएका थिए ।