माओवादी बैठकमा प्रचण्डको प्रतिवेदनमाथि १७ नेताको धारणा, मूल स्पिरिटमा सहमति

मूलखबर संवाददाता
काठमाडौं, १७ साउन ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनैतिक तथा सांगठनीक प्रतिवेदनमाथि १७ नेताले आआफ्नो टिप्पणी राखेका छन् । धारणा राख्ने नेताहरुले प्रतिवेदनको मूल स्पिरिटप्रति समर्थन व्यक्त गरेका छन् ।
कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बुधबार शुरु भएको बैठकमा ती नेताहरुले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका थिए ।

पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको माओवादीका केन्द्रीय सदस्यहरुले बताएका छन् । बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले सङ्गठनात्मक संरचनालाई चुस्त दुरुस्त बनाउने, पार्टी पङ्क्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित तुल्याउने प्रस्ताव राख्नुभएको थियो ।

आजको बैठकमा अध्यक्षले राख्नुभएको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो । बैठकको प्रारम्भमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बैठकको आवश्यकता, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनका सन्दर्भमा धारणा राख्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताउनुभएको थियो । उहाँले जनतामा उत्पन्न भएको आशा र भरोसालाई सङ्गठनमा रूपान्तरणमा गर्नुपर्ने बताउनुभयो ।

“अहिले देशको राजनीति जुन विन्दुमा छ, जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे–जस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रम, लिएका पहलकदमी र गरिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ”, बैठकमा अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले केन्द्रीय समितिको बैठकले सरकारले गरेको कामलाई अझ व्यवस्थित गर्ने, प्रभावकारी बनाउने, राष्ट्र र जनताको आवश्यकताअनुसार अगाडि बढ्न सहज वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढीकरण गर्न केन्द्रीय समितिले छलफल र निष्कर्ष निकाल्ने छ”, सम्बोधनका क्रममा उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी पुनःनिर्माणको नयाँ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीका नेता कार्यकर्ता जनतामा जोडिनुपर्नेमा जोड दिनुभएको थियो । नेता कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टी जस्तो नभएको उल्लेख गर्दै उहाँले केन्द्रीय समिति बैठकबाट कम्युनिष्ट पार्टी पुनःनिर्माणको अभियान थाल्नुपर्ने बताउनुभयो । उहाँले गम्भीर, जिम्मेवारीपूर्वक र अनुशासितरूपले बहस छलफल गरी यस बैठकलाई पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिनुभयो ।

बैठक बिहीबार विहान ११ बजेसम्मको लागि स्थगित गरिएको छ ।