माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक आजबाट शुरू हुँदै, प्रदेश पदाधिकारी पनि सहभागी हुने

मूलखबर संवाददाता
काठमाडौं, १७ साउन

सत्तारूढ दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समितिकाे बैठक आजबाट शुरू हुने भएको छ । संघिय राजधानी काठमाडौंस्थित  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ ।

बैठक पाँच दिनसम्म जारी हुने बताइएको छ । सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । माओवादी केन्द्रले यसपटकदेखि प्रदेश पदाधिकारीलाई पनि केन्द्रीय सदस्यसरह बैठकमा सहभागी गराउने निर्णय गरेर यसअघि परिपत्र गरेको थियाे ।

बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई अन्तिम रूप दिन  आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।