लम्पी स्किन राेग नियन्त्रणमा सरकार गम्भीर : प्रधानमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, १५ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउनु हुँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताउनुभयो ।

लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको  बताउनुभयो  ।

प्रधामन्त्री प्रचण्डले भन्नुभयो  ‘‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र छति पनि ।’’

आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराउनुभयो । प्रधामन्त्रीले बैठकमा भन्नुभयो, ‘‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्व तयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं ।’’