१० लाख ५४ हजार गाईभैंसी लम्पीस्किनबाट संक्रमित, दूध खान हुने कि नहुने ?

मूलखबर संवाददाता
काठमाडौं

नेपालमा गाईभैँसीहरूमा लम्पी स्किन राेग महामारीको रूपमा फैलिरहेकाे छ । लम्पी स्किन राेगकाे संक्रमण बढ्दै जाँदा दुधका उपभोक्ताहरू पनि शशंकित बनिरहेका छन् ।

नेपालमा गाईभैंसीको सङ्ख्या झन्डै सवा करोड छ। अहिले देशैभरि गरेर १० लाख ५४ हजार गाईभैँसी लम्पी स्किनबाट सङ्क्रमित भइसकेको पशुसेवा विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालले बताए।

तीमध्ये ४८,००० भन्दा धेरैको ज्यान गइसकेको छ। अहिले सक्रिय सङ्क्रमित बस्तुभाउको सङ्ख्या नै दुई लाख ३७,००० रहेको सरकारी तथ्याङ्क छ।

पछिल्लो अवधिमा माथिल्लो भेगका चौँरी गाईहरूमा पनि यो सङ्क्रमण सल्किसकेको डा श्रेष्ठले बताए।

सामान्यतया लम्पी स्किन लागेको बस्तुभाउको दूध खान मिल्ने विज्ञहरू बताउँछन्।

“किनभने लम्पी स्किन रोग गराउने भाइरस ‘जूनोटिक’ होइन। अर्थात् त्यो भाइरस पशुबाट मानिसमा सर्दैन। तर यसको सङ्क्रमण हुनासाथ पशुको उत्पादन ८० प्रतिशतले घटिहाल्छ। दश लिटर दूध दिने गाईले दूई लिटर मात्र दिन सक्छ,” नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा स्वयम्‌प्रकाश श्रेष्ठले भने।

“त्यसैले दूध खाँदाखेरि रोग सर्ने भन्ने त हुँदैन। तर बिरामी पशुलाई एन्टिबायोटिकजस्ता औषधि दिइएको छ भने कम्तीमा १४ दिन त्यसको दूध उपभोग गर्न हुँदैन भन्ने मान्यता छ,” उनले भने।

गाउँघरमा पनि मानिसहरूले आफ्नै हिसाबले सङ्क्रमितको दूध खाने कि नखाने भनेर निर्णय गर्ने गरेको पशुपालक शिवप्रसाद अधिकारीले बताए।