ललिता निवास जग्गा प्रकरण : सर्वाेच्चले दियाे सचिव राउतलाई थुनामुक्त गर्न आदेश

मूलखबर संवाददाता
काठमाडौं, ५ साउन

सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरण अभियाेगमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनामै राखी अनुसन्धान गर्नु पर्नाको आधार, कारण र औचित्य नदेखिएको जनाएको छ ।

‘निजउपर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि मुद्दा नचलाउने भनी निर्णय गरेकोसमेत देखिन्छ‚’ आदेशमा भनिएको छ, ‘यस स्थितिमा निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्नेसम्मको अवस्था इजलाससमक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकाले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नुपर्नेसम्मको आधार, कारण र औचित्य देखिएन ।’