कक्षा १२ को नतिजा साउन अन्तिममा आउने, यसरी हेर्न सकिन्छ नतिजा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

डा. शर्माका अनुसार परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका छन् ।

जसमा ५६ हजारभन्दा बढी परीक्षार्थीले कम नम्बर आएको विषयमा ग्रेड वृद्धि गर्न परीक्षा दिएका थिए । परीक्षा ७७ वटै जिल्लाका एक हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो ।

नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।

नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।