सीता दाहालको निधनको सातौं दिनमा बालुवाटारमा श्रद्धान्जली कार्यक्रम आयोजना

मूलखबर संवाददाता
काठमाडौं, २ साउन ।

सम्माननीय प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी एवम् नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहाकार सीता दाहालको असामयीक निधन भएको आज सातौं दिन पुगेको छ । उहाँप्रति सम्मान गर्दै आज श्रद्धान्जली कार्यक्रम आयोजना गरिँदैछ ।

प्रधानमन्त्री निवास वालुवाटार प्रांगणमा दाहालको श्रद्धान्जली कार्यक्रम गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डसहितका परिवारका सदस्यहरुले सेतो कपडा लगाएर ७ दिनसम्म सीता दाहालको शोक मनाउँदै शुभेच्छुकहरुबाट समवेदना ग्रहण गर्नुभएको थियो ।

२०८० असार २७ गते ६९ वर्षको उमेरमा उपचारको क्रममा निधन हुनुभएकी सीता दाहालको सोही दिन राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । उहाँको सम्मानमा पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा श्रद्धान्जली अर्पण गरिएको थियो । त्यस यता प्रधानमन्त्री निवास वालुवाटारमा प्रत्येक दिन सयौंको संख्यामा पार्टी नेता कार्यकर्ता, जनसमुदाय र शुभचिन्तकहरु आएर श्रद्धान्जली पत्र र समवेदना दिने गरेका छन् ।

आज हुने कार्यक्रममा सीता दाहालको जीवनकथा समेटिएको वृत्तचित्र प्रदर्शन गर्ने समेत कार्यक्रम हरको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सो कार्यक्रममा सहभागि हुनको लागि सरकारी गैरसरकारी, कुटनीतिक नियोग र विभिन्न क्षेत्र र पेशामा आवद्ध पार्टी नेता कार्यकर्ता, जनसमुदाय र शुभचिन्तकहरुलाई निमन्त्रणा गर्नुभएको छ । कार्यक्रमको नेपाल टेलिभिजनसहित विभिन्न मिडियाहरुले प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।